कुन नाका भएर अफगानी नागरिक भित्रिए काठमाडौं ?

काठमाडौं : काठमाडौंको सिनामंगलबाट ११ जना अफगानी नागरिकहरु पक्राउ परेका छन् । उपचारको निहुँमा आफ्नो मुलुक छाडेर भारत आइपुगेका उनीहरु सुनौली–बेलहिया नाका हुँदै काठमाडौं आइपुगेका हुन् ।

अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेयता डराएर मुलुक छाड्नेहरू विभिन्न देश पुगे पनि शरणार्थी बनेर समूहगत रूपमा नेपाल भित्रिएको यो पहिलो पटक हो ।

कुनै पनि मुलुकबाट प्रवेशाज्ञा नलिएकाहरूले वैधानिक रूपमा नेपाल प्रवेश पाउँदैनन् । तर भैरहवा हुँदै भित्रिएका अफगान नागरिकका बारेमा न सीमा क्षेत्रको सुरक्षा संयन्त्रले थाहा पायो, न त काठमाडौं आउन्जेलमा सरकारले । सजिलै नेपाल भित्रिएर राजधानी नै आइपुगेका उनीहरू सुरक्षित रुपमा बसिरहेका थिए । तर प्रहरीले विशेष सूचनामार्फत उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीद्वारा खटिएको प्रहरी टोलीले उनीहरुलाई आज बिहान सिनामंगलको एक घरबाट पक्राउ गरेको हो ।

सीआईबीका प्रवक्ता एसपी श्याम कुमार महतो पक्राउ परेकामध्ये ६ जनासँग भारतको नक्कली आधारकार्ड बरामद भएको बताए । उनका अनुसार पक्राउ परेका ११ जनामध्ये ३ जना महिला र ८ जना पुरुष रहेका थिए । पक्राउ परेका सबै जनालाई अहिले अध्यागमन कार्यलाय पठाइएको एसपी महतोले बताए ।

अफगानीहरु बिना अनुमती नेपाल आएको पुष्टि भए अध्यागमन कानुनअनुसार कारबाही गरिने गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) फणिन्द्रणी पोखरेलले बताए।

यसअघि काँकडभिट्टाबाट ठूलो समूहमा बर्मेली रोहिंग्या शरणार्थीलाई मानव तस्करले काठमाडौं ल्याएको थियो । अध्यागमन र सुरक्षा प्रशासनले त्यसको सुइँकोसम्म पाएका थिएनन् । अहिले त्यसैगरी अफगान शरणार्थी बेलहियाबाट भित्रिएका हुन् । तालिवान सत्तामा आएपछि अफगान शरणार्थी नेपाल छिर्न सक्ने भन्दै सुरक्षा विज्ञहरूले सीमा क्षेत्रमा सुरक्षा जाँच कडा पार्न र भारत हुँदै आउने तेस्रो मुलुकका नागरिकमाथि निगरानी बढाउन सुझाव दिएका थिए । सीमा क्षेत्रमा तैनाथ अध्यागमन, सीमा प्रशासन, नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका संयन्त्रको लापरबाहीले अफगान ‘शरणार्थी’ भारतको बाटो हुँदै भित्रिएका हुन् ।

गृहका प्रवक्ता पोखरेलले भने, ‘तेस्रो मुलुकका नागरिक गैरकानुनी रूपमा नेपाल आउन सक्नेप्रति सतर्कता अपनाएर सीमामा सुरक्षा जाँच बढाउन डेढ महिनाअघि पनि परिपत्र गरेका थियौं, यसलाई अझै कडाइ गर्न पुनः निर्देशन दिइसक्यौं, कानुनविपरीत कोही पनि विदेशीलाई नेपाल प्रवेश गर्न बन्देज छ ।’

नेपालमा अहिले भुटानी र तिब्बती शरणार्थीलाई मात्रै मान्यता दिइएको छ । तर, पाकिस्तानी, इराक, इरान, रोहिंग्या र अफगानी नागरिकसहित अरू ८ मुलुकका नागरिक नेपालमा गैरकानुनी रूपमा भित्रिएर ‘शरणार्थी’ का रूपमा आएका छन् ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.