काठमाडौंमा यौनधन्दा चलाएको आरोपमा १ महिला पक्राउ, ५ किशोरीको उद्धार

काठमाडौं । काठमाडौंको मुलपानीबाट यौनधन्दा चलाएको आरोपमा १ जना महिला पक्राउ गरेको छ । जबरजस्ती यौन धन्दामा लगाइएका ५ जना किशोरीलाई मुलपानीबाट केन्द्रीय अनुसन्धान ब्यूरोले माइती नेपालसँगको समन्वयमा उद्दार गरेको छ ।

सोमबार किशोरीहरुलाई उद्दार गरिएको माइती नेपालले जानकारी दिएको छ । यौनधन्दा चलाएको आरोपमा प्रहरीले सिन्धुपाल्चोक घर भएकी सीता बुढाथोकीलाई पक्राउ गरेको छ ।

बुढाथोकीले मुलपानीको तिवारी टोलमा रहेको आफ्नै घरमा १५ देखी १७ वर्षका किशोरीहरुलाई ग्राहक बोलाएर यौन सम्पर्क गर्न बाध्य बनाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोले आरोपीलाई आवश्यक अनुसन्धान र कारबाहीका लागी महानगरीय प्रहरी वृत्त बौद्धमा पठाएको छ । आरोपीमाथि मानव बेचबिखन मुद्दामा अनुसन्धान शुरु गरिएको बौद्धका डिएसपी ढुण्डीराज न्यौपानेले बताए । किशोरीहरुलाई माइती नेपालको संरक्षणमा राखिएको छ ।