काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत आपूर्ति सुधार गर्न सबस्टेसन निर्माणको काम धमाधम सुरु गरेको छ । उपत्यकाको विद्युत प्रसारण तथा वितरण प्रणाली सुधारका लागि निर्माणाधीन आयोजनाहरु जतिसक्दो छिट्टो सम्पन्न गर्न पहल सुरु गरेको हो ।
काठमाडौं उपत्यकाभित्रको विद्युतको बढ्दो माग धान्न र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन प्राधिकरणले निर्माणाधीन आयोजनाहरु एक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाएको छ ।
काठमाडौं उपत्यकाको विद्युत आपूर्तिलाई भरपर्दो, गुणस्तरीय र आधुनिक बनाउन नयाँ सबस्टेसन निर्माण तथा सञ्चालनमा रहेका स्वस्टेसनलाई स्वचालित बनाउने र विद्युतीय तारलाई भूमिगत बनाउने, नयाँ फिडर तथा ट्रान्सफर्मर थप्ने तथा सुदृढीकरण गर्ने लगायतका आयोजनाहरु सञ्चालित छन् । प्राधिकरणले काठमाडौं उपत्यकामा दुई हजार मेगावाट विद्युत खपत गर्ने गरी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका साथ प्रसारण तथा वितरण प्रणाली पूर्वाधार बनाउन सुरु गरेको छ ।
नेपाल सरकार, प्राधिकरणको लगानी, एसियाली विकास बैंक (एडिबी) र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहुलियतपूर्ण ऋणमा प्रसारण तथा वितरण प्रणाली सुधारको बृहत् योजना अगाडि बढाइएको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माणाधीन आयोजनाहरुको स्थलगत अनुगमन गरी निर्माण प्रगति, व्यहोरिरहेका समस्या, एक वर्षभित्र सम्पन्न गर्न गर्नु पर्ने कामलगायतका विषयमा जानकारी लिएका छन् ।
कार्यकारी निर्देशक घिसिङले काठमाडौंको मातातीर्थमा निर्माणाधीन २ सय २०/१ सय ३२/३३ केभी सबस्टेसन, फुटुङ, टेकु, चोभार, भक्तपुरको ठिमी तथा चाँगुनारायणमा निर्माणाधीन १ सय ३२/३३/११ केभी सबस्टेसन, विद्युतीय तारको भूमिगत गर्ने कामको अनुगम गरी निर्माणलाई तिब्रता दिन आग्रह गरेका छन् ।
घिसिङले अगामी वर्षको हिउँद सुरु हुनुभन्दा पहिले नै आयोजनाको निर्माण सम्पन्न गर्न आयोजना व्यवस्थापन, निर्माणमा संलग्न ठेकेदारहरु र परामर्शदातालाई आग्रह गरे । ‘निर्माणाधीन सबस्टेसनहरु अर्को वर्षको हिउँद अगाडि निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन सकिएन भने पूर्वाधार अभावमा विद्युत माग अनुसार आपूर्ति गर्न नसकेर लोडसेडिङ गर्नु पर्ने अवस्था आउन सक्छ, त्यसैले यस्ता संवेदनशील आयोजनाहरुको निर्माणमा सबै गम्भीर बनेर सम्पन्न गरौं’, उनले भने ।
‘मुख्य सडकमा विद्युतीय तार भूमिगत गर्न सडक विभागले अनुमति नदिंदा, स्थानीयले रुट परिवर्तनको माग राख्ने अवरोध गर्दा, केही स्थानमा स्थानीयले आफ्नो घर नजिक ट्रान्सफर्मर राख्न नदिंदा काम प्रभावित भएको छ । सो समस्यालाई पार लगाउँदै जसरी पनि आयोजनाहरु सम्पन्न गर्नु पर्ने छ, सम्बन्धित निकायमा आवश्यक पहल र समन्वय गरिरहेका छौं।’
मस्र्याङ्दी र त्रिशूली नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याएर वितरण गर्न मातातीर्थमा २ सय २०/१ सय ३२/३३ केभी, ३ सय २० एमभीए क्षमताको सबस्टेसन निर्माणाधीन छ । आगामी असोजभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको मातातीर्थ सबस्टेसन काठमाडौं उपत्यकामा विद्युत आपूर्तिका लागि ठूलो हब बन्दैछ ।
सबस्टेसनबाट थानकोट, सतुंगल, गुर्जुधारालगायतका क्षेत्रमा विद्युत आपूर्ति गर्न पाँच वटा ११ केभीका फिडर भूमिगत गरी मुख्य सडकसम्म निकाल्ने प्रारम्भिक काम सुरु गरिएको छ । फिडर सञ्चालनमा आएपछि त्यस क्षेत्रको विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुने छ भने स्यूचाटार र टेकु सबस्टेसनको लोड काम हुने छ ।
काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिमा सुधार गर्न महत्वपूर्ण मानिएको थानकोट–चापागाउँ–भक्तपुर १ सय ३२ केभी प्रसारण लाइन अन्तर्गत ललितपुरको खोकना, बुंमती, हरिसिद्धी र लामाटार क्षेत्रमा निर्माणमा अवरोध भएपछि काठमाडौंको चोभारमा १ सय ३२/११ केभी सबस्टेसन निर्माण प्रक्रिया अगाडि बढाइएको छ । सबस्टेसनमा ४५ एमभीए क्षमताका दुई वटा पावर ट्रान्सफर्मरहरु रहने छन् ।
सुख्खाबन्दरगाहा नजिक हिमाल सिमेन्टको जग्गामा सबस्टेसन निर्माणका लागि आवश्यक पर्ने १२ रोपनी जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढिरहेको छ । मातातीर्थबाट चोभारसम्म १ सय ३२ केभी प्रसारण लाइन बनिसकेको छ ।
‘थानकोट–चापागाउँ–भक्तपुर लाइन सम्पन्न गर्न सकिएको भए काठमाडौं,ललितपुर र भक्तपुरमा १ सय ३२ केभी प्रसारण लाइनको रिङ बन्ने थियो । यसबाट विद्युत आपूर्तिको विश्वसनीयता बढ्ने र भोल्टेजको गुणस्तर सुधार हुने थियो तर लाइन बन्न नसक्ने अवस्था देखिएपछि चोभारमा सबस्टेसन बनाई चक्रपथ हुँदै १ सय ३२ केभी भूमिगत लाइन बनाउँदै ललितपुरको लगनखेल सबस्टेसनमा पुर्याउने योजना बनाएका छौं’, कार्यकारी निर्देशक घिसिङले भने । ‘
यसको डिजाइन भइसकेको छ, सञ्चालनमा रहेको लगनखेल सबस्टेसनलाई सुदृढीकरण गरी १ सय ३२ केभी बनाउँदैछौं । त्यसपछि आगामी दिनमा त्यहाँबाट भूमिगत रुपमा चापागाउँ र हरिसिद्धीमा लाइन लैजाने छौं ।’
अहिले ललितपुर क्षेत्रमा स्यूचाटार–पाटन–वानेश्वर ६६ केभी लाइनबाट विद्युत आपूर्ति भइरहेको छ । यो लाइन अहिले नै ‘ओभर लोडेड’ छ । प्राधिकरणले काठमाडौंको टेकुस्थिति ६६/११ केभी सबस्टेसनको सुदृढीकरण गरी १ सय ३२/११ केभी र फुटुङमा १ सय ३२/११ केभीको नयाँ सबस्टेसन बनाउँदैछ ।
दुवै सबस्टेसनमा ४५/४५ एमभीए क्षमताका दुई वटा पावर ट्रान्सफर्मरहरु राखिने छ । बालाजु–चपली १ सय ३२ केभी डबल सर्किट प्रसारण लाइनलाई फुटुङ सबस्टेसनमा ‘ट्यापिङ’ गरी त्यस क्षेत्रमा विद्युत आपूर्ति गरिने छ ।
फुटुङ सबस्टेसनको मुख्य सिभिल संरचनाहरुको निर्माण भइरहेको छ भने उपकरणहरु आइसकेका छन् । सबस्टेसन सञ्चालनमा आएपछि बालाजु क्षेत्रको विद्युत आपूर्तिमा सुधार हुने छ भने बालाजु सबस्टेसनको लोड कम हुने छ ।
यसैगरी भक्तपुरको चाँगुनारायणमा १ सय ३२/११ केभी सबस्टेसन निर्माणाधीन छ भने स्थानीयको अवरोधका कारण लप्सीफेदी २ सय २०/१ सय ३२/११ केभी सबस्टेसन निर्माण सुरु हुन सकेको छैन । तामाकोसी र सुनकोसी नदी जलाधार क्षेत्रमा निर्माण भएका जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा वितरणका लागि लप्सीफेदी सबस्टेसन निर्माण गर्न लागिएको हो ।
सबस्टेसनमा १ सय ६० र २२.५ एमभिए क्षमताका पावर ट्रान्सफर्मरहरु रहने छन् । रामेछापको खिम्तीमा रहेको न्यू खिम्ती सबस्टेसनबाट बाह्रबिसै हुँदै लप्सीफेदीसम्मको ४ सय केभीको डबल सर्किट तामाकोसी–काठमाडौं प्रसारण लाइन निर्माणाधीन छ ।
लप्सीफेदीबाट चाँगुनारयण सबस्टेसनसम्मको करिब १० किलोमिटर प्रसारण लाइन निर्माणमा स्थानीयले अवरोध गरिरहेको प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख तारा प्रधानले बताउनुभयो । चपली–भक्तपुर १३२ केभी प्रसारण लाइनलाई ट्यापिङ गरी चाँगुनारायण सबस्टेसनमा लगिने छ । सबस्टेसनको निर्माण अर्को वर्षको पुसभित्र सक्ने लक्ष्य राखिएको छ ।