अन्तत: राजीनामा दिन शीतल निवास पुगे प्रधानन्यायाधीश राणा !

काठमाडाैं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा पदबाट राजीनामा दिने निष्कर्षमा पुगेको बताइएको छ । नेपाल बार र सहकर्मी न्यायाधीशहरूको चर्को विरोधका बीच अदालत उपस्थित भएर मुद्दा सुनुवाइ गर्दै आएका जबरा बारको निषेध आन्दोलन घोषणालगत्तै अदालतबाट बाहिरिएका हुन् ।

स्राेतका अनुसार प्रधानन्यायाधीश राणा इजलास नबसी राष्ट्रपति कार्यालय पुगेका हुन्। आफ्नो एकल इजलास गठन गरेर ६ वटा मुद्दा पेसीमा चढाएका राणा इजलास नबसी शीतल निवास पुगेका हुन्।

प्रधानन्यायाधीश राणाले बिहीबार राष्ट्रपतिलाई राजीनामा बुझाउन शीतल निवास पुगेकाे स्रोतले बताएको छ तर औपचारिक पुष्टि हुन बाँकी छ । प्रधानन्यायाधीश राणानिकट स्रोतले भन्यो, ‘न्यायालयमाथि जसरी आक्रमण सुरु भएको छ, यसको निकासका लागि सम्माननीयज्यू राजीनामा दिने निष्कर्षमा हुनुहुन्छ।’

त्यस्तै प्रधानन्यायाधीशको भूमिकाले न्यायालय गम्भीर संकटमा पुगेको भन्दै पूर्वप्रधानन्यायाधीशहरु र नेपाल बार एशोसियसनले राजीनामाको सुझाव दिएका छन्। सर्वाेच्च अदालतकै न्यायाधीशहरुले पनि पछिल्लाे केही दिनदेखि इजलास बहिस्कार गर्दै आएका छन् ।

चार पूर्वप्रधानन्यायाधीशहरुले केही दिनअघि विज्ञप्ति जारी गर्दै राणालाई राजीनामा दिन सुझाएका थिए। प्रधानन्यायाधीशले राजीनामा नगरे महाअभियोग समेत लाग्न सक्ने चेतावनी उनीहरुले दिएका थिए । न्यायपालिकाले आफ्नो समस्या आफैं समाधान नगरे विधायिकी हस्तक्षेप हुन सक्ने पूर्व न्यायाधीशहरुको चेतावनी छ ।

पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले केही दिनअघि विज्ञप्ति नै निकालेर प्रधानन्यायाधीश जबरालाई न्यायपालिकाको गरिमा बचाइराख्न बहिर्गमनको बाटो समात्न आग्रह गरेका थिए ।

प्रधानन्यायाधीश राणाले गठबन्धन सरकारमा भागबण्डा खोजेको आरोप लागेको छ। त्यस्तै उनले केही दिन अघि सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए । राणा र प्रचण्डबीच प्रधानन्यायाधीशको निवासमा भेटवार्ता भएको सार्वजनिक भएको थियो । न्यायालयलाई देखाएर सत्तासँग भागवण्डा खोजेको आरोप लागेपछि प्रधानन्यायाधीश राणाको आलोचना भइरहेको छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.