अन्तत: प्रधानमन्त्रीले भने-‘मलाई साथ नदिने जति जानुस्’

काठमाडौं । आफूलाई हटाउन बहुमत-अल्पमतको जोड घटाउ तीव्र भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ सबै मन्त्रीलाई बालुवाटार डाकेर सोधे, ‘तपाईंमध्ये को-को मेरो नेतृत्वमा विश्वास गर्नुहुन्छ ? को-को गर्नुहुन्न ? अहिल्यै जवाफ दिइरहनु पर्दैन। मैले सोधेको बेला भने हुन्छ। तर, मेरो नेतृत्वमा विश्वास नगर्नेले जहाँ मन लाग्छ, जानुहोला।’

अध्यक्ष र प्रधानमन्त्री दुवैबाट राजीनामा नदिने अडान ओलीले मन्त्रीहरूमाझ पनि दोहोर्‍याए। राष्ट्रियता र कम्युनिस्ट आन्दोलन कमजोर पार्ने गरी आफूले अहिले कुनै पनि हालतमा राजीनामा नदिने उनको भनाइ थियो। ‘राष्ट्रपतिमाथि पनि महाभियोग लगाउने तयारी भएको कुरा आएको छ’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै मन्त्री रामेश्वर राय यादवले भने, ‘विकास, ऐतिहासिक उपलब्धि र स्थिरता विरोधी शक्ति सक्रिय भएका छन्। तिनलाई निस्तेज पार्नु अहिलेको मेरो आवश्यकता हो।’

ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवैबाट हटाउन स्थायी समितिका बहुमत लागेपछि नेकपा एकता संकटमा परेको छ। एकीकरणको २६ महिनामै पार्टी फुटको संघारमा पुगेको छ।

‘राष्ट्रियता र कम्युनिस्ट आन्दोलनमाथि नै अहिले धावा बोल्ने काम भइरहेको छ। गाह्रो छ अहिलेको अवस्था। राष्ट्रियता र कम्युनिस्ट आन्दोलन जोगिन्छ भने मैले राजीनामा दिने हो। अहिले त दुवै कमजोर अवस्थामा छन्। यस्तो बेला मैले आफ्नो दायित्वबाट भाग्न मिल्दैन। म राजीनामा दिन्नँ, प्रतिवाद गर्छु’ प्रधानमन्त्री ओलीले भने। अन्नपुर्ण पाेष्टबाट

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.