वामदेव गाैतमको मुद्दा आज पनि हेर्दाहेर्दैमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा आज पनि पेशीमा राखिएको छैन । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहितको संवैधानिक इजलाशमा गौतमको मुद्दा हेर्दाहेर्दैमा छ ।

सर्वोच्च अदालतमा कोरोना भाइरसको संक्रमण फैलिएसँगै सर्वोच्चमा थोरै कर्मचारीले काम चलाइरहेको र थोरै मुद्दामा मात्र सुनुवाई भैरहेको छ ।

संवैधानिक इजलासका मुद्दा बुधबार र शुक्रबार मात्र हेर्ने गरिएको छ । आज नौओटा विभिन्न इजलाशमा ९० ओटा मुद्दाको पेशी चढेपनि वामदेवको मुद्दा भने पेशीमा चढेको छैन ।

मन्त्रिपरिषदको सिफारिसमा गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभामा मनोनित गरेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

वामदेवको मुद्दा निर्णय नभएकाले सरकारको पुनर्गठन प्रक्रिया पूरा हुन सकेको छैन । यहीबीचमा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थसहित तीन मन्त्री नियुक्त गरिसकेका छन् ।

वामदेव निकटहरुले भने प्रम ओलीको निर्देशनमा महान्यायाधिवक्ता अग्नि खरेल र नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले वामदेवको मुद्दालाई लम्ब्याइरहेको आरोप लगाएका छन्।

Facebook Comments