चीनको अघोषित नाकाबन्दीका कारण व्यापारीले गरे आत्महत्या!

काठमाडाैँ । केरुङ–रसुवागढी नाकामा १० महिनादेखि चीनले अघोषित नाकाबन्दी गरेकाे छ। अघोषित नाकाबन्दीका कारण सीमामा अड्किएकाे सामानका एक व्यापारीले आत्महत्या गरेका छन्। 

सिन्धुपाल्चोक बाह्रबिसेका हरेराम पौडेलले आत्महत्या गरेका हुन्। २७ असोजकाे साँझपख ३५ वर्षीय पौडेलले पेप्सीकोलाको आफ्नो निवासमै पासो लगाएर आत्महत्या गरे । प्रहरीका अनुसार अपरान्ह साढे ४ बजे पौडेल मृत भेटिएका थिए । कमाउने मुख्य व्यक्ति नै नरहेपछि दसैँ मात्र खल्लो रहेन, जीवन नै अप्ठेरोमा धकेलिएको छ । सात वर्षका छोरा र १० वर्षकी छोरी छन्, उनका ।

चीनबाट नेपाल सामान आपूर्ति गर्ने व्यावसायी हुन् पौडेल । सात वर्षदेखि यो व्यवसायमा लागेका उनी पछिल्लो समय व्यापारमा राम्ररी जमिरहेका थिए । तर विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को महामारीसँगै नेपाल–चीन सीमानाका बन्द भएपछि धेरै व्यावसायीलाई झैँ पौडेललाई पनि प्रतिकूल बन्दै गयो । लामो समयसम्म नाका नखुल्दा व्यापार चौपट बन्दै गयो ।

प्रहरीका अनुसार पौडेलको आर्थिक व्यवहार बिग्रिएको अनुसन्धानबाट खुलेको छ । पौडेलको आत्महत्याको कारण यही हुन सक्ने प्रहरीले अनुमान गरेको छ । ‘तर ठ्याक्कै यही कारण हो भन्ने निचोडमा भने पुग्न सकिएको छैन,’ महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका एक प्रहरी अधिकृतले भने, ‘परिवारले समेत आत्महत्याबारे बाहिर नभन्न हामीलाई भनेको छ । मोबाइलको फरेन्सिक परीक्षणपछि थप खुल्नेछ । त्यसको रिपोर्ट आएको छैन ।’ प्रहरीले पौडेलको ऋण भएको तथ्य फेला पारे पनि त्यसको आकार भने पत्तो पाउन सकेको छैन ।

कोभिड–१९ को संक्रमणपछि भने गत पुसदेखि चीनले आफ्ना सबै नाका सिल गर्‍यो । चीनको वुहानमा सबैभन्दा पहिले भाइरस देखिएको थियो । त्यसबेला तातोपानी र केरुङ दुवै नाकामा नेपालीका २ हजार कन्टेनर सामान अड्किए ।ती सामान अहिलेसम्म कुन हालतमा पुगे भनेर अनुमान मात्र गर्न सकिन्छ । केरुङ नाकामा मात्र अझै नेपाली व्यवसायीका १ हजार कन्टेनर सामान थन्किएका छन् ।

Facebook Comments