बाढी-पहिरो प्रभावितको व्यवस्थापन हिउँदसम्म भइसक्छ : गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले बाढी पहिरोबाट प्रभावित नागरिकहरुको व्यवस्थापन हिउँदसम्म गरिसक्ने बताएका छन् ।

सिन्धुपाल्चोकका प्रतिनिधिहरुसँगको भेटमा गृहमन्त्री थापाले अस्थायी रुपमै भए पनि सिन्धुपाल्चोक, बागलुङ, कालीकोटलगायत देशभर बाढी-पहिरोबाट प्रभावित नागरिकको व्यवस्थापन छिटै गरिने उनले बताए ।

हिउँद सुरु हुनुअगावै पालमा बसेका नागरिकको व्यवस्थापन गरिने आश्‍वासन दिँदै । उनले भने, ‘‘चिसो बढ्दै जाने समय छ । हिउँद सुरु हुन्छ । अहिले बाढी-पहिरो प्रभावितहरु पालमा बसेका छन् चिसोमा त्यसले धान्दैन । यसका लागि तत्काल चाल्नुपर्ने स्टेप (कदम) चाल्छौँ । सकेसमम न्यानो हुने अस्थायी किसिमको बसाइको व्यवस्था गर्छौं । हिउँदमा चिसोले मानवीय क्षति नहोस् भनेर हामीले ध्यान दिएका छौँ ।’’

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख गोपाल तामाङले जिल्लाका विभिन्‍न स्थानमा गरी अहिले ३५१ बस्ती जोखिममा रहेको बताए ।

यो वर्ष मानवीय र भौतिक क्षति भएका समेत गरी ३५१ बस्तीका ६ हजार ५ सय ७१ परिवार जोखिममा रहेको उनले बताए । जिल्लाका १८ वटा बस्ती अति जोखिममा रहेकाले आगामी वर्षको बर्खा सुरु हुनुअघि नै सार्नुपर्ने अवस्था रहेको उनले बताए ।

Facebook Comments