एजेन्सी। हङकङको स्वतन्त्रतालाई नै अन्त्य गर्ने गरी चीनले लागु गरेको राष्ट्रिय सुरक्षा कानुनको उल्लंघन गर्ने प्रजातान्त्रि समूह डेमोसिस्टोले चेतावनी दिएको छ । चीन सरकारले हङकङको संसदलाई नै निस्क्रिया हुने गरी र स्वतन्त्रताका अधिकारहरु समाप्त पार्ने गरी ३० जुनमा यो कानुन लागु गरेको थियो ।
कानुन लागु भएसँगै हङकङको प्रजातान्त्रिक समूह डेमोसिस्टोका शीर्षस्थहरु जोसहुआ वोङ, नाथन ल, एजेन्स चो र जेफ्री नगोले सामाजिक सञ्जालमार्फत उक्त कानुन खारेज हुनुपर्ने माग राख्दै उल्लंघन गर्ने चेतावनी दिएका थिए ।
सन् २०१४ मा अम्ब्रेला रिभोलुसन गरेका दुई समूह मिलेर सन् २०१६ मा डेमोसिस्टो पार्टी गठन भएको थियो । तर, कानुन लागु भएसँगै हङकङ प्रहरीले प्रदर्शनमा सहभागी भएका सयौंलाई नियन्त्रणमा लिएको थियो ।
पश्चिमा मुलुकहरूले स्वतन्त्रता विरोधी कानुनको संज्ञा दिएर यसको विरोध गरिरहेको छ । अर्कोतर्फ हङकङका नागरिकहरू समेत आन्दोलनमा छन् । यसअघि हङकङको कानुनी प्रणालीमा चीनको कुनै पनि भूमिका थिएन । अहिलेको नयाँ नियमले भने चीनलाई त्यो अधिकार पनि दिएको छ । यस विषयमा अमेरिका र हङकङका कानुनविद्ले भने चीनको नयाँ कानुनमा केही चिन्ताजनक व्यवस्थाहरूको पहिचान गरेका छन् ।
यसअघि स्वतन्त्रताको रुपमा उल्लेख गरेका केही व्यवस्था छन् जसलाई नयाँ कानुनमा अपराधको रूपमा उल्लेख गरिएको छ । नयाँ कानुनको धारा २९ मा चीन वा हङकङका सरकारी अधिकारीले विदेशीसँग साँठगाँठ गरेर नकारात्मक प्रचार गरे त्यसलाई आपराधिक गतिविधि मानिने उल्लेख गरिएको छ । जसलाई पहिले अपराध मानिएको थिएन ।
बुधबार हङकङकी जस्टिस सेक्रेटरी टेरेसा चेङलाई यो धाराको बारेमा व्याख्या गर्न आग्रह गर्दा उनले स्पष्ट उत्तर दिन सकिनन् । त्यस्तै, धारा ५५ मा पनि अस्पष्ट भाषाको प्रयोग गरिएको छ । यो धारामा चीनको सुरक्षाकर्मीले कुनै जटिल, गम्भीर वा कठिन केही राष्ट्रिय सुरक्षाका मुद्दाहरूमा अनुसन्धान गर्न पाउने उल्लेख गरिएको छ । यस किसिमको शब्दहरू विषयगत र अनुकूलताको आधारमा व्याख्या गर्न सकिने किसिमको रहेको जानकारहरूले बताएका छन् । मानव अधिकार संस्थाहरूले चीनले अहिले अघि सारेको कानुनले यसअघि प्रतिवादीलाई दिइएको संरक्षणको बेवास्ता गरेको बताएका छन् ।
त्यस्तै, धारा ४१ मा कुनै कारबाही गोप्य राख्न सकिने व्यवस्था उल्लेख छ । धारा ४६ मा कुनैमा कानुन नै नलाग्ने व्यवस्थासमेत गरिएको छ । न्यायाधीशहरू हङकङको प्रमुख कार्यकारीले चयन गर्ने व्यवस्था धारा ४४ मा गरिएको छ । प्रमुख कार्यकारी चीनप्रति उत्तरदायी हुन्छन् । साथै, धारा ४२ मा शंकास्पद आरोपीलाई जमानतको अधिकार पनि सुरक्षित गरिएको छ ।
त्यसका साथै नयाँ कानुनमा आरोपीलाई कति समय हिरासतमा राख्ने भन्नेबारे कुनै समयसीमा तोकिएको छैन । केवल यस्ता मुद्दाहरू समयमा नै समाधान गर्नुपर्ने उल्लेख गरिएको छ ।
धारा ५६ अनुसार अनुसन्धानदेखि न्यायसम्पादन तथा सजायसम्मको समग्र मुद्दा सहजै चीनका अधिकारीहरूलाई बुझाउन सकिन्छ ।
हङकङभन्दा बाहिरका नागरिकलाई धारा ३८ अनुसार मुद्दा चलाउन सकिन्छ । चीनको विषयमा जानकारी राख्ने कानुनविद् डोनाल्ड क्लार्क अहिले चीनले अघि सारेको कानुनले तिब्बत स्वतन्त्रताको आन्दोलन पनि छायामा पर्न सक्ने बताएका छन् । उनका अनुसार अब यदि कसैलाई चीन वा हङकङको विरुद्ध बोल्नु छ भने हङकङभन्दा बाहिर रहनु नै राम्रो विकल्प भएको उनको भनाइ छ ।
नयाँ कानुनअनुसार चीनले हङकङमा राष्ट्रिय सुरक्षाको लागि सैनिक राख्न एक कार्यालय खोल्न पाउनेछ । धारा ६० मा यो कार्यालयका काम गर्ने कर्मचारीले हङकङको नियम पालना गर्नुपर्ने बाध्यता छैन । उनीहरूको निगरानी, अनुसन्धान वा गिरफ्तारी गर्ने अधिकार हङकङसँग हुने छैन । क्लार्कका अनुसार उनीहरू कसैले पनि कारबाही गर्न नसक्ने राजनीतिक शक्तिका साथ आउने छन् ।
हङकङको विपक्षी दलकी सांसद् क्लाउडिया मो चीनको राष्ट्रिय सुरक्षा कानुनको उद्देश्य हङकङ केही पनि होइन भन्ने बनाउनु रहेको बताएकी छिन् । यस किसिमको कानुनले मानिसमा डर उत्पन्न गर्ने मानिसहरूले चीनको विरुद्धमा केही भन्न नसक्ने उनको भनाइ छ ।
चीनको हङकङ तथा मकाउ मामिला कार्यालयका झाङ सियाओमिङले बुधबार नयाँ कानुनको उद्देश्य उक्त क्षेत्रमा स्थायित्व कायम राख्नु रहेको बताएका छन् । यसले हङकङलाई चीनको कानुन, प्रक्रिया र अभ्यासको रेखामा ल्याउने उनको भनाइ छ ।
Facebook Comments