लद्दाखकाे सिमानामा खटाइने सैनिकलाई मार्सल आर्ट तालिम

एजेन्सी । चीनले आफ्ना सैनिकलाई तालिम दिन मार्सल आर्टका २० प्रशिक्षकलाई तिब्बत पठाउने भएको छ ।

सीमामा भारत र चीनका सेनाबीच भएको हिंसात्मक झडपछि चीनले उक्त कदम चालेको हो । तर यसबारे उसले आधिकारिक प्रतिक्रिया दिएको छैन ।

यही जुन १५ गते राति सीमा क्षेत्र पूर्वी लद्दाखको गलवान उपत्यकामा दुई देशका सैनिकबीच झडप हुँदा भारतीय सेनाका एक उच्च अधिकारीसहित २० जनाको मृत्यु भएको थियो । तर चीनतर्फ के कति क्षति भयो अहिलेसम्म उसले जानकारी गराएको छैन ।

यहीबीच चीनले आफ्ना सैनिकलाई मार्सल आर्टको प्रशिक्षण दिन २० प्रशिक्षक तिब्बत पठाउने निर्णय गरेको हो ।

सन् १९९६ मा गरिएको एक सम्झौताका कारण सीमा क्षेत्रमा खटिने भारत र चीन दुवै देशका सेनाले बन्दुक वा विस्फोटक पदार्थ बोक्न नपाउने नियम छ ।

हङकङका सञ्चारमाध्यमका अनुसार मार्सल आर्ट प्रशिक्षक खटाइनेबारे समाचार चीनका आधिकारिक सञ्चारमाध्यमले यही जुन २० तारिखमा प्रकाशन गरेका हुन् ।

एन्बो फाइट क्लबका २० प्रशिक्षक तिब्बतको राजधानी ल्हासामा रहने खबर सरकारी सीसीटीभीले प्रसारण गरेको छ । तर उनीहरूले सीमा क्षेत्रमा खटिएका सैनिकलाई प्रशिक्षण दिने वा नदिने विषयमा सीसीटीभीले खुलाएको छैन । स्रोत : बिबिसी

Facebook Comments