चीनले राष्ट्रिय सुरक्षा कानुन ल्याउन लागेको भन्दै हङकङबासीहरु अन्य मुलुकको शरणमा

एजेन्सी । चीनले राष्ट्रिय सुरक्षा कानुन लागु गर्न थालेपछि हङकङबासीहरु उत्पीडन र मारिने त्रासका कारण विभिन्‍न मुलुकमा शरणमा लागि गइरहेका छन् । गत वर्षदेखि विभिन्‍न माग राख्दै आन्दोलन गरिरहेकाहरु अन्य मुलुकमा शरण खोजिरहेका हुन् ।

सन् २०१९ मा स्वतन्त्रता र प्रजातन्त्रको माग राख्दै करिब सात महिनासम्म आन्दोलन गरिरहेका थिए । सन् २०१९ को अन्तिमदेखि सन् २०२० को सुरुआतदेखि करिब २१ हजार मानिसले बसाइसराईका लागि प्रहरीमा नाम दर्ता गराएका थिए ।

आन्दोलनमा सहभागीहरुले जर्मनी, नेदरल्यान्ड र अमेरिकामा शरण खोजेका हुन् । “उक्त कानुनअन्तर्गत तपाईंलाई कुन आरोपमा कस्तो मुद्दा लगाउने हुन् भन्‍ने थाहा छैन । त्यसकारण अहिले नै शरण खोजिरहेका छौं,” आन्दोलनमा सहभागी एकजनाले वाशिङ्टन पोस्टलाई बताएका छन् ।

कोरोना महामारीमा चीनसँगका सीमा नाका बन्द गर्न माग गर्दै आन्दोलन गरिरहेकी एक महिलाले मुलुकको हित र नागरिकको सुरक्षाका लागि आन्दोलनमा सहभागी भए पनि अहिले आउने नयाँ कानुनले हामीलाई फसाउने चिन्ता बढेको उनले बताइन् ।

उनी अब हङकङमा बस्‍नसक्ने स्थिति नभएकोले अन्य मुलुक जानुपर्ने बाध्यता सिर्जना भएको बताइन् । उनीसँगै उनको परिवार ताइवान सर्ने भएको छ । हङकङबाट आउनेहरुलाई ताइवानमा स्वागत गरिएको छ । आन्दोलनकारीलाई शरण दिएको भन्दै चीनले ताइवानमाथि पनि आक्रोश व्यक्त गरेको छ ।

Facebook Comments