काठमाडौं। पछिल्लाे समय आरडिटी कीटकाे काराेना भाइरसकाे परीक्षणमा प्रयाेग नगर्न सडकदेखि सदनमा बहस भइरहेकाे बेला पनि सरकार स्वास्थ्य निर्देशिकामा कुनै परिवर्तन गरेकाे छैन। केही दिनअघि दैलेखमा क्वारेन्टाइनबाट घर फर्काइएको दुई दिनपछि १ सय १३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको भयाे ।
जसले आरडिटी कीटकाे परीक्षणमा प्रश्न उठ्याे। दैलेखको नारायण नगरपालिकामा मात्रै आरडिटी परीक्षणको नतिजाको आधारमा घर पठाइएका ९५ जनामा कोरोना संक्रमण पुष्टि भएपछि त्यहाँ काेराेना भाइरसकाे त्रास नै फैलियाे।
आरडिटी गरिएकाहरुको पिसीआर रिपोर्ट आउन ढिलाई भएपछि उनीहरुलाई प्रशासनले घर जान अनुमति दिएको थियो। पछि प्रशासनलाई समेत संक्रमितहरु खोजेर ल्याउन हम्मेहम्मे परेको छ। आरडिटीको भर परेर क्वारेन्टाइनमा बसेकाहरुलाई घर पठाउँदा समुदायमा नै कोरोना संक्रमणको खतरा समेत बढेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रोटोकलअनुसार आरडिटी परीक्षणमा नेगेटिभ नतिजा आएकालाई घरमा पठाउने उल्लेख गरिएको छ । मन्त्रालयको प्रोटोकललाई आधार मानेर आरडिटी परिक्षणमा नेगेटिभ आएकालाई घरमा पठाउदा गाउँ नै जोखिममा परेको हो ।
संसारभर आरडिटी परिक्षण विश्वसनीय नभएको रिपोर्ट आएपनि नेपालमा भने स्वास्थ्य मन्त्रालयले नै आरडिटी परिक्षणलाई आफ्नो प्रोटोकलमा राखेको छ। सडकदेखि सदन हुँदै विज्ञहरुसम्मले हुन्न भनेको आरडीटी प्रयोगमा सरकार भने प्रोटोकल बनाएर नै प्रयोगलाई वैधानिकता दिइरहेको छ। मानौ सरकारलाई जनताको स्वास्थ्य भन्दा पनि आरडिटी खरिदमा आउने कमिसनमा बढी स्वाद मिलेको छ।
आरडिटीको प्रयोगमा रोक लगाउनु पर्ने माग जोडतोडले उठिरहेका बेला एक कम्पनी वीड ग्रुपले आरडिटी कीट बेच्नलाई विज्ञापन नै गर्यो । केही मिडियामा त्यसको विज्ञापन आएको थियो। आरडिटी किटको विश्वसनियतामाथि प्रश्न उठिरहेकै बेला ठूलो रकममा मिडियाहरुमै सो विज्ञापन अग्रभागमा प्रकाशित थियो।
आफ्नो वेभसाइट समेत नबनाएको वीड ग्रुप नामको कम्पनीले आरडिटी कीट विक्रीको लागि विज्ञापन गरेको थियो। भिम भण्डारी, सौरभ रिजाल, प्रशान्त राणा लगायतका व्यक्तिहरुले संचालक भनिएको सो वीड ग्रुपले यहि बीचमा २ लाख आरडिटी कीट बेचेको छ।
वीडको विज्ञापनमा दिइएको फोन उठाएका आफूलाई कर्मचारी बताउने सुसन धितालले ६५० को दरले अहिलेसम्म २ लाख भन्दा बढी कीट बेचेको हाम्राकुरालाई बताए। धितालले दिएकै जानकारी अनुसार पनि वीडले आरडीटीको प्रयोग नगर्न सरकारलाई व्यापक दवाव परिरहँदा पनि १३ करोड भन्दा बढीको कीट बेचेको छ। अधिकांश कीट सरकार र स्थानीय निकायहरुले खरिद गरेका छन् । धितालले आफूहरुले थोक व्यापारीहरुलाई ६५० रुपैयाँमा बेचेको कीट उनीहरुले ८५० रुपैयाँमा बेचेको जानकारी पाएको बताए। सरकारी निकाय र स्थानीय सरकारहरुले किनेको दर हेर्दा थप दुई करोड बढी थोक विक्रेताहरुले सरकारी निकाय र स्थानीय सरकारहरुसँग उठाएका छन्।
Facebook Comments