रसुवा बाढी : भन्सारबाट मालवस्तु बोकेका सयभन्दा बढी गाडी बगेको प्रारम्भिक अनुमान, बाढी प्रभावित क्षेत्रमा जाँदै अर्थमन्त्री

काठमाडौं । चीनतर्फबाट आएको बाढीका कारण रसुवागढी भन्सार र निर्माणाधीन टिमुरे सुक्खा बन्दरगाह क्षेत्रमा रहेका १ सय भन्दा बढी गाडी बगेको प्रारम्भिक अनुमान गरिएको छ ।

नेपाल इन्टरमोडलर विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार यसरी बगेकामध्ये अधिकांश मालवस्तु बोकेका सवारी साधन छन् ।

इभी गाडी भने केही पर रहेका कारण कम क्षति पुगेको अनुमान गरिएको छ ।

यार्डमा २३० वटा सवारी साधन पार्किङ गरेर राखिएको भएपनि केही गाडीहरुमात्रै राति माथि सारिएको हुँदा कति क्षति भयो भन्ने अहिले ने भन्नन नसकिने उनले बताए ।

उनले भने–‘अहिले घटनास्थलमा क्षतिको विवरण संकलन भइरहेको छ, त्यसपछि मात्र स्पष्ट हुनेछ ।’

यसैबीच, बाढीका कारण रसुवागढीमा पुगेको क्षतिको स्थलगत निरीक्षण गर्न अर्थमन्त्री विष्णु पौडेल त्यसतर्फ जाने भएका छन् ।

अर्थमन्त्री पौडेल अर्थसचिव घनश्याम उपाध्याय, भन्सार विभागका महानिर्देशक महेश भट्टराईसहित रसुवा जान लागेका हुन् ।

हेलिकोप्टर व्यवस्थापनका लागि अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई पत्र लेखेको छ । गएराति रसुवामा बाढी आउँदा कम्तिमा १८ जना बेपत्ता छन्, २ जनाको शव भेटिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले ९ जनाको उद्दार गरेका छन् ।

चीनतर्फबाट आएको बाढीले रसुवामा क्षति पुर्‍याएका बेला प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल र नेपाल प्रहरीका प्रमुख डीएसपी हेम शाही भने काठमाडौंमा थिए ।

गृह मन्त्रालयले आयोजना गरेको बागमती प्रदेश स्तरीय सुरक्षा गोष्ठीका लागि उनीहरु काठमाडौं आएका थिए ।

गएराति आएको बाढीले नेपाल–चीन मितेरी पुल, भन्सारसहितका स्थानमा क्षति गरेको छ । सुख्खा बन्दरगाहका ७ वटा इभी गाडी समेत बगेको बताइएको छ । रसुवागढी हाइड्रोपावरको ड्याम र क्याम्पमा पनि क्षति पुगेको छ ।

Facebook Comments