रेशम चौधरीसँग प्रधानमन्त्री ओलीको एक घण्टा भेट, समर्थन फिर्ता र मन्त्री बर्खास्तीबारे कुरा !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे गम्भीर भेटवार्ता भएको छ । उनीहरुबीच बालुवाटारमा सोमबार दिउँसो सवा १२ बजेदेखि करिब एक घण्टा ‘वान टु वान’ छलफल भएको हो ।

भेटका क्रममा चौधरीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहद्वारा आफ्ना मन्त्री रामेश्वर चौधरीलाई ‘विनाकारण’ पदबाट हटाएको विषय उठाएका थिए ।

मन्त्री बर्खास्तीप्रति असन्तुष्टि जनाउँदै उनले सुदूरपश्चिम प्रदेश र संघीय सरकार दुवैबाट नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएकोबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए ।

प्रधानमन्त्री ओलीले चौधरीको गुनासो गम्भीरतापूर्वक लिएको बताउँदै यसबारे नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि छलफल गर्ने आश्वासन दिएको बताइएको छ ।

शुक्रबार सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता दिएको नाउपाले शनिबार संघ सरकारबाट पनि समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

सुदूरपश्चिममा सरकारको स्थायित्व र सत्ता समीकरण फेरिने संकेतबीच भएको यो भेटलाई राजनीतिक रूपमा महत्वपूर्ण मानिएको छ।

Facebook Comments