अतिरिक्त २ अर्ब माग्दै चिनियाँ ठेकेदारद्वारा बुटवल-नारायणगढ सडकको काम ठप्प

काठमाडाैं | चिनियाँ ठेकेदार कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसन प्रालि’ले अतिरिक्त पैसा माग्दै नारायणगढ–बुटवल सडक खण्डको काम ठप्प पारेको छ ।

कम्पनीले सार्वजनिक रूपमा मनसुनका कारण काम हुन नसकेको प्रस्टीकरण दिए पनि थप २ अर्ब रकम दाबी गर्दै काम ठप्प पारेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतले लोकान्तरलाई जानकारी दियो ।

कम्पनीले आफूलाई ७ अर्ब घाटा भइसकेको र थप काम गर्न आफूसँग पैसा नभएको बताउने गरेको मन्त्रालय स्रोतले जनायो ।

सरकारले गएको साउन १० गते एक वर्षभित्र सम्पन्न गर्ने भनेर दोस्रोपटक म्याद थपिदिएको थियो । अहिलेसम्म पूर्वी र पश्चिमी दुवै खण्डमा लगभग ५२ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।

चिनियाँ कम्पनीले आयोजनाका लागि केही कामदार राखेर बाँकी सबैलाई छुट्टी भन्दै चीन पठाएको छ ।

एसियाली विकास बैंकको ऋण लगानीमा बन्न लागेको उक्त सडकमा अहिले ५०/६० जना मात्रले काम गरिरहेका छन् । कम्पनीका उच्च कर्मचारी सम्पर्कमा छैनन् ।

सडक विभागका आयोजना निर्देशक चुडाराज ढकाल गत अगस्त ९ गते कम्पनीका उच्च अधिकारी भेट्न चीन गएका थिए । बेइजिङस्थित नेपाली दूतावासको समन्वयमा चाइना स्टेटको मुख्यालय नै पुगेका ढकालले भने, ‘मैले काम गर्छौ कि ठेक्का तोडौं भनेर सोधेको थिएँ । उनीहरूले पैसा नभएकाले काम गर्न गाह्रो भएको बताए ।’

त्यसपछि ठेक्का तोड्ने कुरा गर्दा उनीहरूले केही समय पर्खिदिन आग्रह गरेको ढकालको भनाइ छ ।

‘त्यसै विषयमा हामी निरन्तर छलफलमै छौं,’ ढकालले भने, ‘ठेकेदार कम्पनी चीनको सरकारी कम्पनी हो । ६ वर्षदेखि निरन्तर काम गरिरहेको छ । यो कूटनीतिक विषय पनि हो, हामी संवेदनशील हुनुपर्छ ।’

पैसा नभएको भन्दै गत ७/८ महिनादेखि निकै धिमा गतिमा काम भइरहेको छ ।

‘अहिले उनीहरूलाई मनसुनको बहाना मिल्यो । मनसुन भएकाले काम हुन नसकेको भन्दै उनीहरू चीन गएर कानमा तेल हालेर सुतिरहेका छन्,’ ढकालले भने ।

कम्पनीले ६ वर्षअघि अनुमानित लागतको २४ प्रतिशत कम रकममा सम्झौता गरेको थियो । बीचमा कोभिडलाई देखाएर काम हुन सकेन । रूख काट्ने विषयमा पनि लामो समय विवाद भएको थियो ।

नारायणगढ-बुटवल सडकको पश्चिम खण्डका आयोजना प्रमुख शशांक मिश्रले चिनियाँ कामदार बिदा भनेर गएकाले काम ठप्प रहेको बताए ।

उनले भने, ‘एसियाली विकास बैंकको मिसनका तर्फबाट सु यान भन्ने एकजना प्रतिनिधि छन् । उनी केही समयअघि बंगलादेशबाट आएका थिए। हामीले छलफल पनि गर्‍यौं । उनले मनसुनलाई जिम्मेवार देखाए ।’

मिश्रले पश्चिम खण्डको भौतिक प्रगति ५३ प्रतिशत रहेको जानकारी दिए । ‘यतिबेला मनसुनका कारण कालोपत्रेको काम भएको छैन । कालोपत्रेबाहेक संरचनागत काम ८० प्रतिशत भएको छ,’ उनले भने ।

मनसुनमा दाउन्ने खण्डमा केही अप्ठेरो पर्न सक्ने आंकलन गरिए पनि अहिले राम्रैसँग गाडी चलिरहेको उनको दाबी छ । पूर्वी खण्डमा पनि काम ठप्प छ ।

नारायणगढ–बुटवल सडक खण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैंडाकोटदेखि दाउन्ने खण्डमा अहिले सामान्य सडक मर्मत कार्यबाहेक अन्य काम भएको छैन ।

पूर्वी खण्डका इञ्जिनियर शिव खनालले भने, ‘सडक विस्तारको काम पूर्णरूपमा बन्द छ भन्न त मिल्दैन, तर कालोपत्रेबाहेक सामान्य पर्खाल निर्माण र खाल्डाखुल्डी मर्मतका लागि जम्मा ६४ कामदार खटिएका छन् ।’

सडक कालोपत्रे र विस्तारको काम कात्तिक १५ देखि मात्र सञ्चालन गर्ने गरी निर्माण कम्पनीले समय तालिका सरकारी पक्षलाई उपलब्ध गराएको छ ।

यसबीचमा मर्मत र पर्खाल निर्माण गर्ने गरी कार्यतालिका पेस गरेको भए पनि सो अनुसारको काम सडकमा कोही देखिएका छैनन् ।

अघिल्लो वर्ष म्याद थप हुँदा सडकको भौतिक प्रगति जम्मा ४२ प्रतिशत थियो । अहिले पूर्वी खण्डको भौतिक प्रगति ५२ प्रतिशत रहेको इञ्जिनियर खनालको भनाइ छ ।

१ सय १३ किमी सडकमध्ये ७० किमी ४ लेन, २९ किमी ४ लेनसहित दुवैतर्फ ६/६ मिटरको सर्भिस लेन, दाउन्नेमा १४ किमी ३ लेन, ६४ पुल, चार सय ६२ कल्भर्टलगायत संरचना निर्माण गर्ने गरी ठेक्का सम्झौता भएको थियो।

हालसम्म २६ दशमलव ५ किमी ४ लेन र २२ किमी २ लेन सडक कालोपत्रे, ४२ पुल र ३ सय ८० कल्भर्ट निर्माण गरिएको छ ।

५ वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७५ सालको चैतदेखि काम शुरू गरिएको थियो । तर, विविध बहानामा ठेकेदार कम्पनीले काम गरिरहेको थिएन ।

काम सक्नुपर्ने समयसम्म उक्त सडकखण्डको प्रगति जम्मा १८ प्रतिशत थियो । २०७९ असोज पहिलो साता एक महिनाको सूचना निकालेर ठेक्का तोड्ने चेतावनी दिइयो ।

ठेकेदारले काम चाँडै सक्ने प्रतिबद्धता जनाएपछि आयोजना ठेक्का तोड्नबाट पछि हटेको थियो ।

तर, ठेकेदार कम्पनीले काम अघि बढाएन, बरु ढाँटिरह्यो । काममा प्रगति नभए पनि दोस्रो पटक २०८१ असारसम्मका लागि म्याद थप गरिएको थियो ।

सम्झौतामा ठेक्का रकम १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँ छ । अहिले पैसा छैन भनेर काम गर्न आनाकानी गरिरहेको उक्त कम्पनीले काठमाडौं तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) मा सुरुङ निर्माणको ठेक्का पनि पाएको छ ।

Facebook Comments