काठमाडौं । भारतका नवनियुक्त विदेश सचिव विक्रम मिस्री परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा आइतबार काठमाडौं ओर्लिए लगत्तै शिष्टाचार एवं राजनीतिक भेटवार्तामा तल्लीन हुनुभयो । मिस्रीले भुटानपछि नेपालको भ्रमण गर्नुलाई उच्चस्तरीय भ्रमणहरूको निरन्तरता मात्रै भनिए पनि एमाले कांग्रेस गठबन्धनको सरकार बनेपछि भारतबाट भएको उच्चस्तरीय भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । भारतीय विदेश सचिव मिस्रीले दुईदिन नेपालमा केके गर्नुभयो त ?
भारतीय विदेश सचिव विक्रम मिस्री दुई दिने नेपाल भ्रमणमा आउँदा राष्ट्रपति, प्रधानमन्त्री देखी, विपक्षी दलका नेता तथा विभिन्न मन्त्रीहरुसँग पनि भेटघाट गर्नुभएको छ । यी सम्पूर्ण भेटघाट नियमित मात्र हुन वा राजनीतिक एजेन्डा पनि थिए त्यो बिस्तारै खुल्दै जाला । तर प्रधानमन्त्रीलाई भेटिसकेपछि पनि मन्त्रीसम्मलाई भेट्नु अर्थपूर्ण छ । कांग्रेस एमाले गठबन्धनमा सरकार बनेपछि भारतबाट पहिलो भ्रमण भएकाले उनले नयाँ सरकारका लागि भारतीय सन्देश पक्कै पनि ल्याएको हुनुपर्ने जानकारहरुको तर्क छ ।
भारतीय विदेश सचिव मिस्रीलाई आइतबार बिहान १० बजेर १५ मिनेटमा काठमाडौं ओर्लिएलगत्तै परराष्ट्र सचिव लम्सालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो । विमानस्थलबाट सोझै लाजिम्पाटस्थित भारतीय दूताबास पुगेर मिस्रीले गुलमोहरको विरुवा रोप्नुभयो । त्यसपछि उहाँले भारतीय सरकारको अनुदान सहयोगअन्तर्गत निर्माण गरिएको काठमाडौँस्थित नेपाल भाषा परिषद्को भवनको उद्घाटन तथा अवलोकन गर्नुभयो ।
विदेश सचिव मिस्रीले आइतबारै राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गर्नुभयो । उहाँले राष्ट्रपति भवनमा द्विपक्षीय हित र सम्बन्धका साथै जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपाल-भारत मिलेर काम गर्नुपर्ने विषयमा छलफल गर्नुभयो ।
यसैगरी सचिव मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि आइतबार नै शिष्टाचार भेट गर्नुभयो । सिंहदरबारस्थिति प्रधानमन्त्री कार्यालयमा औपचारिक भेटवार्ताका बेला दुईपक्षीय हितका विषयमा कुरा भयो । सोही अवसरमा नेपाल सरकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्ता गरेको थियो ।
यसैगरी सचिव मिस्रीले साँझ ५ बजे कांग्रेस सभापतिको शेरबहादुर देउवासंग बुढानिलकण्ठस्थिति निवासमा र नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग खुमलटारस्थिति निजी निवासमा भेटवार्ता गर्नुभयो ।
सोमबार विहानै विदेश सचिव मिस्रीले उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भेटघाट गर्नु भएको छ । यसैगरी उहाँले अर्का उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग पनि भेट गर्नुभयो । भेटमा आर्थिक तथा विकास सहायता, द्विपक्षीय हित, चालु आयोजनाको तीव्रतालगायतका विषयमा छलफल भएको उपप्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसैगरी भारतीय विदेश सचिवले गृहमन्त्री रमेश लेखकसँग पनि आजै शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
त्यसलगत्तै उहाँले परराष्ट्रमन्त्री आरजू राणासंग शिष्टाचार भेटवार्ता गर्नुभयो । त्यस अवसरमा एयर कनेक्टिभीटी बढाउन भारतसँग थप हवाई रुट उपलब्ध गराउन मन्त्री राणाले आग्रह गर्नुभएको थियो । भेटका क्रममा मन्त्री राणाले नेपाल र भारतका सीमा क्षेत्र हुँदै आयात हुने तरकारी तथा फलफूलको गुणस्तर मापन परीक्षणका लागि प्रयोगशाला स्थापना गर्न भारतको पहलका लागि पनि कुरा उठाउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यस्तै पञ्चेश्वर आयोजनाका बाँकी काम अघि बढाउने विषयसमेत मन्त्री राणाले उठाउनुभएको थियो ।
सोमबारै आयोजित दुईदेशका सचिवस्तरीय बैठकमा सहभागि हुनुभएका मिस्रीको स्वागतमा परराष्ट्र सचिव सेवा लम्सालले दिवा भोजमा आयोजना गर्नुभएको थियो । बैठकमा आर्थिक तथा विकास सहायता, द्विपक्षीय हित, चालु आयोजनालाई तीव्रता दिनेलगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसरी दुई दिनमा राज्यका उच्च ओहदाका व्यक्तिहरुसँग रफ्तारपुर्ण मिटिङ गरेर सोमबार साँझ ६ बजे मिस्री स्वदेश फर्कनुभएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मात्र नभएर त्यसअघिका भारतीय प्रधानमन्त्री इन्द्रकुमार गुजराल र मनमोहन सिंहका समेत निजी सचिव भइसक्नुभएका मिस्रीको नेपालको दुईदिने भ्रमण औपचारिकमात्रै भनिएपनि यसलाई महत्त्वका साथ हेरिएको छ ।
Facebook Comments