नेपालको बहुप्रतिक्षित ‘मुनाल’ मिसनमा भारतले सघाउने

काठमाडौँ । नेपालद्वारा निर्मित ‘मुनाल’ भूउपग्रह प्रक्षेपणका लागि नेपाल र छिमेकी राष्ट्र भारतबिच सम्झौतामा हस्ताक्षर भएको छ । भारतको विदेश मन्त्रालय र न्यु स्पेस इन्डिया लिमिटेड (एनएसआईएल) ले शनिबार मुनाल भूउपग्रह प्रक्षेपण गर्न अनुदान सहयोगका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रन्धीर जैसवालले सम्झौताबारे जानकारी दिँदै दुई देशबिचको अन्तरिक्ष सहयोगमा एउटा महत्वपूर्ण कोसेढुङ्गा भएको जानकारी दिएका छन् ।

सम्झौतामा मन्त्रालयको तर्फबाट भारतीय विदेश मन्त्रालयका नेपाल मामिला हेर्न उच्च अधिकारी सहसचिव अनुराग श्रीवास्तव र एनएसआईएलका निर्देशक अरुणाचलम एले हस्ताक्षर गरेका थिए ।

कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का सचिव डा रवीन्द्रप्रसाद ढकाल, नेपाली दूतावासका कार्यवाहक डा सुरेन्द्र थापा र अन्तरिक्ष प्रतिष्ठान नेपाल (एपीएन)का संस्थापक डा आभास मास्केको समेत उपस्थिति रहेको थियो ।

सम्झौता अनुसार नास्टको आयोजनामा नेपालमा विकसित गरिएको भूउपग्रहलाई एनएसआईएलको पोलार स्याटेलाइट लन्च भेहिकलमा निशुल्क रूपमा प्रक्षेपण गरिने भएको छ ।

गत पुस १९ गते नेपाल–भारतबीचको संयुक्त आयोगको बैठकमा नेपालले बनाएको स्याटलाइटलाई भारत सरकारको सहयोगमा प्रक्षेपण गर्ने सहमति भएको थियो । भारतीय विदेशमन्त्री एस जयशंकर सहभागितामा नेपाल र भारतबीच उक्त सहमति भएको थियो ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र भारतीय अन्तरिक्ष अनुसन्धान संस्था तथा अन्तरिक्ष विभागका तर्फबाट न्यू स्पेस इण्डिया (एनएसआइएल) बीच ध्रुवीय उपग्रह प्रक्षेपण वाहन मुनाल उपग्रह प्रक्षेपण सेवासम्बन्धी सम्झौतामा पनि हस्ताक्षर भएको थियो ।

के हो मुनाल मिसन ?
मुनाल नेपालमै बनाइएको स्याटेलाइट हो । नेपाली अन्तरिक्ष स्टार्टअपले मुनाल स्याटेलाइटको डिजाइन र निर्माणमा नेपाली विद्यार्थीहरूलाई सहयोग गरेको छ । उपग्रहको उद्देश्य पृथ्वीको सतहको वनस्पति घनत्व डाटाबेस निर्माण गर्ने हो ।

भारतको बेंगलुरुमा प्राविधिक परीक्षण गराइएको यो स्याटेलाइटको ‘फ्लाइट मोडल’ बनेपछि दसैंअघि अन्तरिक्षतर्फ प्रक्षेपणको तयारी छ  । यसको आकार नेपाली स्याट–१ जस्तै १ यू छ । यो भनेको १० घन सेन्टिमिटर हो । तौल एक केजी हाराहारी मात्रै छ ।

मुनाल स्याटेलाइट नेपाली स्याटभन्दा केही परिस्कृत छ । दुइटा क्यामेरा छन् । आरजीबी र इन्फ्रारेड इमेज दुवै मिलाइएको छ । नेपाली स्याट १ को ).३ मेगापिक्सल थियो भने यसको १.३ मेगापिक्सल छ । काठमाडौं विश्वविद्यालय हाईस्कुल (केयूएचएस) परिसरमा स्थापना गरिएको स्पेस सिस्टम ल्याबोरेटरी (एसएसएल) मा मुनाल भू–उपग्रहको इन्जिनियरिङ मोडल तयार गरिएको हो ।

यो स्याटेलाइटलाई नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान (नास्ट), अन्तरिक्ष प्रतिष्ठान नेपाल र केयूएचएसलगायत अन्य सरकारी तथा गैरसरकारी संस्थाहरूको सहयोग छ । स्याटेलाइट निर्माणको चरणमा इन्जिनियरिङ मोडल जटिल मानिन्छ । यो मोडलमा विभिन्न परीक्षण गरिन्छ । कृत्रिम अन्तरिक्षको वातावरणमा गरिने परीक्षणको चरण ‘मुनाल’ ले पार गरिसकेको छ ।

यो दुई वर्ष लामो परियोजनामा काठमाडौँ विश्वविद्यालय उच्च माध्यमिक विद्यालय , चैतन्य माध्यमिक विद्यालय, आजाद माध्यमिक विद्यालय, र सञ्जीवनी मोडेल उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरू संलग्न थिए। काठमाडौँ विश्वविद्यालय उच्च माध्यमिक विद्यालय मा रहेको स्पेस सिस्टम्स ल्याबोरटोरी मा विकसित गरिएको मुनाललाई सन् २०२४ को सुरुमा सतीश धवन स्पेस सेन्टरबाट प्रक्षेपण गर्ने योजना गरिएको छ। भारतको श्रीहरिकोटा, आन्ध्र प्रदेशमा रहेको भारतीय अन्तरिक्ष अनुसन्धान संगठन को प्रमुख अन्तरिक्ष केन्द्र हो ।

भारतको बेंगलुरुस्थित अनन्त टेक्नोलोजमा केही साताअघि मात्रै मुनालले अन्तरिक्षको वातावरणमा काम गर्न सक्नेरनसक्नेसम्बन्धीको परीक्षण गरिएको थियो । परीक्षण गराउनका लागि सिलावसहित, प्रतिष्ठानकी इन्जिनियर एजिला सापकोटा, निर्माणकर्ताहरू सुशान्त ढकाल र श्रीया प्रधान भारत गएका थिए ।

Facebook Comments