चाइना स्टेट कम्पनीलाई सात दिनभित्र खाल्डा खुल्डी पुर्न निर्देशन

काठमाडाैं । वर्षाको कारण बुटवल नारायणगढ सडक दिनदिनै जसो अवरुद्ध भएपछि निर्माण कम्पनी चाइना स्टेट कम्पनीलाई सात दिनभित्र बुटवल नारायणगढ सडकको पूर्वी खण्डमा खाडल पुर्न निर्देशन दिइएको छ ।

आज जिल्ला समन्वय समिति नवलपुरको आयोजनामा कावासोतीमा भएको नवलपुरका जनप्रतिनिधि, सुरक्षा निकाय र सरोकारवालाबीचको छलफलपछि यस्तो निर्देशन दिइएको हो ।

अहिले बुटवल नारायणगढ सडक खण्डको दाउन्ने र चोरमारामा दैनिकजसो सडक अवरुद्ध हुने गरेको छ भने दाउन्ने, दुम्किबास, अरुणखोला, चोरमारा, कावासोती, गैडाकोटलगायतका स्थानमा अत्यधिक खल्डाखुल्टी भएको छ ।

पूर्वपश्चिम राजमार्गको नवलपुर खण्डमा अहिले जम्मा ५३ प्रतिशतको हाराहारीमा काम भएको छ । सडक निर्माणको ठेक्का अवधि साउन ८ गते सकिँदै छ । चाइना स्टेट कम्पनीले भने अहिले आफूहरुसँग पैसा नभएको भन्दै वर्षाको वेला ठाउँठाउँमा सडक अलपत्र परेर छाडेको छ ।

सडक अलपत्र हुँदा यात्रुहरुलाई यात्रामा निकै सास्ती भएको छ भने अहिले चोरमारा र दाउन्ने खण्डमा दैनिक जसो सडक अवरुद्ध हुने गरेको छ ।

चाइना स्टेट कम्पनीले चोरमारामा तत्काल ग्राभेल विछ्याएर पानी पर्दा सडक अवरुद्ध नहुने गरी काम गर्ने प्रतिबद्धता जनाएको छ भने ७ दिनभित्र पूर्वपश्चिम राजमार्गमा रहेको खाल्डाखुल्डीहरु पुर्ने प्रतिबद्धता जनाएको जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विकले बताए ।

Facebook Comments