चिनियाँ सेनाले लद्दाख नजिकै जम्मा गर्‍यो हतियार, स्याटेलाइट फोटोबाट खुलासा

काठमाडौं । लद्दाखको पूर्वी क्षेत्र प्यांगोङ तालको सीमा नजिक चिनियाँ सेनाले ठूलो मात्रामा हतियार सङ्कलन गरिरहेको छ ।

अमेरिकी कम्पनी ब्ल्याकस्काईले आफ्नो स्याटेलाइट फोटो सार्वजनिक गरेको छ । जसमा चिनियाँ सेनाहरूले हतियार र इन्धन भण्डारण गर्न बनाएका बङ्करहरू देखिन्छ ।

यी बङ्करहरू सन् २०२१-२२ मा निर्माण गरिएको हो । त्यहाँ इन्धन र हतियार भण्डार गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उक्त स्थानमा बख्तरबन्द गाडीहरू पनि देखिन्छ ।

हिन्दुस्तान टाइम्सको रिपोर्टका अनुसार पाङ्गोङ ताल नजिकै सिरजापमा चिनियाँ सेनाको बेस छ । यहाँ चिनियाँ सैनिकको क्षेत्रिय मुख्यालय पनि छ । यो ठाउँलाई भारतले आफ्नो दाबी गर्दै आएको छ । यो एलएसीबाट मात्र ५ किलोमिटर टाढा छ।

सन् २०२० मे ५ मा चिनियाँ र भारतीय सेनाबीच झडप भएको थियो । त्यतिबेला सो क्षेत्र खाली थियो । यहाँ न त कुनै गाडी थियो न त कुनै पोस्ट नै । त्यसपछि चिनियाँ सेनाले विस्तारै उक्त क्षेत्रमा आफ्नो गतिविधि बढाएको थियो ।

ब्ल्याकस्काईले खिचेको तस्वीर मे ३० को हो । यसमा एउटा भूमिगत बंकर स्पष्ट देखिन्छ । जुन बंकरमा ५ वटा ढोका छन् । बंकरलाई हवाई आक्रमणबाट कुनै क्षति नहोस् भनेर डिजाइन गरिएको छ । चिनियाँ सेनाले यस बंकरसम्म पुग्न सडक र खाडलको सञ्जाल बनाएको छ।

यो बेस गलवान उपत्यकाबाट १२० किलोमिटर दक्षिण पूर्वमा रहेको छ, जहाँ सन् २०२० को जुनमा भारतीय र चिनियाँ सैनिकबीच झडप भएको थियो । यस अवधिमा २० भारतीय सैनिकको ज्यान गएको थियो । भारत सरकारबाट हालसम्म कुनै प्रतिक्रिया आएको छैन ।

Facebook Comments