ताइवानलाई चिढ्याउने चिनियाँ युद्धखेल

एजेन्सी । ताइवानले हालै जनवरीमा निर्वाचित राष्ट्रपति लाई चिङ–टेको सत्तारोहणसँगै सत्ताको अर्को शान्तिपूर्ण संक्रमण पार गरेको छ । आफ्नो उद्घाटन भाषणमा लाईले छिमेकी चीनलाई धम्की दिने कार्य बन्द गर्न र ‘टकरावको सट्टा वार्ता रोज्न’ आग्रह गरेका थिए । चीनले ताइवानको सिमुलेटेड (प्रविधिबाट गरिने अनुकरणात्मक) नाकाबन्दी सुरु गरेर प्रतिक्रिया जनाएको छ । चिनियाँ जनमुक्ति सेनाले ‘कडा दण्ड’का रूपमा संसारको सबैभन्दा सघन जनसंख्या भएको देशमा क्षेप्यास्त्र वर्षा गर्ने क्षमताको घमण्ड गर्दै केही तस्बिर जारी गरेको छ ।

लोकतन्त्रमाथिको खतरा : दुई करोड ४० लाख जनताको लोकतान्त्रिक मतदान अधिकारमा बेइजिङको मानक प्रतिक्रिया भनेको ‘खप्पर फुटाउने र रगत बगाउने’ धम्की थियो । चीनका लागि ताइवान एक विद्रोही प्रान्त हो, जसले ‘मातृभूमिको अँगालोमा फर्किनुपर्छ ।’ तर, ताइवानमा चीनको कुनै अधिकार छैन । हालैका वर्षमा चीनले राष्ट्र संघमा आफ्नो कूटनीतिक प्रभाव र शक्ति प्रयोग गरेर इतिहासलाई पुनर्लेखन गर्न र ताइवानमाथिको आफ्नो सार्वभौमसत्ताको दाबीलाई वैध बनाउन प्रयास गरिरहेको छ । जब कि ताइवान मानव स्वतन्त्रता सूचकांकमा उच्च स्थानमा छ (क्यानडाभन्दा मात्र एक स्थानअगाडि) चीन एक प्राविधिक अधिनायकवादी राज्य हो । जुन सी जिनपिङको शासनकालमा थप आक्रामक बनेको छ । लाखौँ उइगुर मुसलमानलाई पुनर्शिक्षा दिइँदै छ र जबर्जस्ती श्रम शिविरमा कैद गरिँदै छ । त्यसैगरी, तिब्बती ‘चिनियाँकरण’ हुन बाध्य छन् र सांस्कृतिक एवं धार्मिक सम्पदा गुमाउँदै छन् ।

युक्रेन युद्धलाई निरन्तरता दिन सक्रिय रूपमा हतियार आपूर्ति गर्दै चीनले विश्व व्यवस्थालाई पुनः आकार दिन खोजिरहेको छ

सीमापार पनि चिनियाँ नियन्त्रण : राजनीतिक आलोचक, पत्रकार र विदेशी नागरिक धम्की वा जेलबाट मुक्त छैनन् । विदेशमा दण्डहीनतासाथ सञ्चालित चिनियाँ कथित पुलिस स्टेसनमार्फत सहयोग हुने अन्तर्राष्ट्रिय दमनमा चिनियाँ सरकारले चिनियाँ नागरिक र चीनका आलोचकलाई जहाँ भए पनि निसाना बनाउँछ र धम्की दिन्छ । क्यानडालगायत धेरै सरकारले चिनियाँ कम्युनिस्ट पार्टीका गतिविधि वा आलोचनात्मक अभिव्यक्ति निषेध गर्ने कानुनको ‘मनोमानी कार्यान्वयनको जोखिम’का कारण चीन र हङकङको यात्रा गर्दा सावधानी अपनाउन चेतावनी दिएका छन् । चीनको सेन्सरसिप, निगरानी र स्वेच्छाचारी गिरफ्तारी व्यापक छन् र यस्ता रणनीति एवं प्रविधि चिन्ताजनक रूपमा विश्वव्यापी निर्यात भइरहेका छन् ।

युद्धका खेल : सन् २०२२ मा अमेरिकी पूर्वसभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गर्दा चीनले युद्धका खेल सञ्चालन गरेको थियो । ताइवानको ‘एयर डिफेन्स आइडेन्टिफिकेसन जोन’मा चिनियाँ युद्धपोत र लडाकुको घुसपैठ बढ्दै गएको छ । यसबाहेक आक्रमण नगरे पनि चीनले ताइवानको नियन्त्रणमा रहेको टापुमा आफ्नो समुद्री मिलिसिया तैनाथ गरेर पानीको परीक्षण बढाउँदै छ ।

बल प्रयोग निकै कम हुने ‘ग्रे–जोन’ रणनीति भनेर चिनिने यो उपायलाई अन्तर्राष्ट्रिय कानुनअन्तर्गत निषेधित गरिएको छ । यसलाई ‘सलामी स्लाइसिङ’ भनेर पनि चिनिन्छ । ग्रे–जोन रणनीति जुन कडा आक्रमण होइन, यसले अरूलाई द्वन्द्वको स्थितिमा सम्भावित रूपमा भड्किन दिने गरी प्रतिक्रिया दिन गाह्रो बनाउँछ । तर, बल वा सैन्य धम्कीलाई जवाफ नदिँदा यस्ता आक्रामक व्यवहारलाई सामान्य बन्ने र अन्तर्राष्ट्रिय शान्ति एवं स्थायित्वलाई थप अस्थिर बनाउन चीनलाई उत्प्रेरित गर्ने जोखिम हुन्छ ।

दोहारिइरहने आक्रामक व्यवहार : रुससँग घनिष्ठ सम्बन्ध राख्दै र युक्रेनमा आफ्नो युद्धलाई निरन्तरता दिन सक्रिय रूपमा हतियार आपूर्ति गर्दै चीनले विश्व व्यवस्थालाई पुनः आकार दिने आफ्नो इच्छा लुकाएको छैन । चीनको बढ्दो नौसैनिक र हवाई सैन्य कारबाहीबाट मात्रै ताइवान प्रताडीत छैन । उत्तर कोरियाविरुद्ध राष्ट्रसंघका प्रतिबन्ध लागू गर्ने क्यानडा र अस्ट्रेलियाली विमानले पनि अन्तर्राष्ट्रिय जलक्षेत्रमा बारम्बार उत्पीडन गरिरहेका छन् । यसैबीच, चीन भारतसँग हिंस्रक सीमा विवादमा पनि लगातार संलग्न छ । चीनले जापानको सार्वभौमसत्तालाई चुनौती पनि दिइरहेको छ र दक्षिण चीन सागरको विवादित टापुमाथि सैन्यकीकरण गरिरहेको छ । अन्तर्राष्ट्रिय उड्डयनको सुरक्षालाई खतरामा नपार्न एसिया–प्रशान्त क्षेत्रमा हुने नेभिगेसन र आपत्कालीन संकटका संकेतको प्रवाहलाई नियतवश गरिने जामका लागि पनि चीनलाई पनि जिम्मेवार ठहराइएको छ ।

ताइवानको महत्व किन ? : विश्वभरका प्रविधि अधिकारीले हालै ताइवानको एआई र नवीन प्रविधिका भविष्यबारे छलफल गरेका थिए । कम्प्युटिङ टेक्नोलोजी र चिप उत्पादनमा ताइवानको क्षमतालाई इंगित गर्दै एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङले आफ्नो मातृभूमिलाई ‘चर्चा नभएको, तर विश्वको एक अटल स्तम्भ’ भनेर वर्णन गरेका थिए । र, ताइवान बढ्दो आक्रामक र दृढ चीनको सामना गर्नुपर्ने अवस्था झेलिरहेको छ ।

दैनिक आधारमा हेर्ने हो भने ताइवानले चीनबाट उत्पन्न हुने विश्वमा सबैभन्दा धेरै साइबर आक्रमणको अनुभव गर्छ । यी आक्रमण सरकारी सेवा अवरुद्ध पार्ने र सामाजिक अविश्वास रोप्ने उद्देश्यले गरिएका हुन्छन् । ताइवानसँग डिजिटल युगमा कसरी नागरिकको सहभागिता बढाउने, विदेशी प्रभावको प्रतिरोध गर्ने र लोकतान्त्रिक संस्था एवं प्रक्रियामा विश्वास घटाउने, गलत सूचना र विकृतिलाई हटाउनेबारे विश्वसँग साझा गर्न धेरै कुरा छन् । ताइवानवरपरका नवीनतम युद्ध खेल चीनले उदार लोकतन्त्र र अन्तर्राष्ट्रिय शान्ति एवं सुरक्षालाई कमजोर पार्ने विभिन्न उपायको एक अर्को कडी मात्रै हो । आज ताइवानमाथि सिमुलेटेड (अनुकरणात्मक) आक्रमण भएको छ । तर, यसलाई वास्तविक हुनबाट रोक्न विश्व एकसाथ खडा हुनुपर्छ । (क्वान–वी म्याकगिल विश्वविद्यालयका एयर एन्ड स्पेस लका अध्येता हुन्) द कन्भर्सेसनबाट

Facebook Comments