गुलरिया नगरपालिकाले दियो उपभोक्ता समितिलाई सीमाभन्दा बढी लागतका योजना

सन्दिप कुमार बैश्य
बर्दिया । बर्दियाकाे गुलरिया नगरपालिकामा व्यापक रूपमा सैद्धान्तिक बेरुजु देखिएको छ ।

आर्थिक वर्ष २०७९/०८० मा नगरपालिकाले उपभोक्ता समितिलाई सीमाभन्दा बढीका योजना दिएपछि सैद्धान्तिक बेरुजु देखिएकाे महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

सार्वजनिक खरिद नियमावली २०६४ काे नियम ९७ अनुसार सार्वजनिक निकायले उपभाेक्ता समितिलाई लागत अनुमानमा मुल्य अभिवृद्धि कर, ओभरहेड, कन्टिन्जिन्सी र जनसहभागिताकाे अंशसमेत समावेश गरी १ कराेडसम्मकाे कार्य उपभाेक्ता समितिबाट गराउन सकिनेमा पालिकाले चार वटा याेजनाकाे लागत अनुमान १ कराेड भन्दामाथि भएकाे कालाेपत्रे जस्ताे जटिल कार्य समेत उपभाेक्ता समितिबाट गराएकाे पाइएकाे उक्त प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनका अनुसार गुलरिया वडा नम्बर १२ पण्डितपुर प्रतिक्षालयदेखि हेल्थपाेस्टसम्म जाने सडक कालाेपत्रे कार्यकाे लागि लागत अनुमान १ कराेड १३ लाख ९७ हजार ७ सय ८३ रूपैयाँ ६४ पैसा थियाे ।

त्यस्तै गुलरिया वडा नं. १ काे १० नं. गाउँ र १६ नं. गाउँ भित्रका सडकहरू कालाेपत्रेफ सडक निर्माण कार्यकाे लागि लागत अनुमान १ कराेड १६ लाख ६० हजार ९७ रूपैयाँ १३ पैसाकाे रहेकाे प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनका अनुसार गुलरिया नगरपालिका वडा नं. ११ नेपाल भारत सिमानाबाट उत्तर आउने कालेपत्रे सडक निर्माण साथै डाडालालपुर कृष्ण यादवकाे घरदेखि हिमालय आ.वि. जाने सडकमा नाली निर्माण कार्यकाे लागि १ कराेड ९ लाख ६२ हजार ७ सय ५२ ९७ रूपैयाँ ७२ पैसा थियाे ।

त्यस्तै वडा नं. २ जैनपुर गाउँकाे भित्रि सडक कालाेपत्रे सडक र नाली निर्माण कार्यकाे लागि १ कराेड १६ लाख ८४ हजार ४ सय ११ रूपैयाँ १३ पैसा पैसाकाे रहेकाे प्रतिवेदनमा उल्लेख छ ।

Facebook Comments