भारत-चीन सीमा विवादबारे मोदीले भने : वार्ताबाट समस्या समाधान गर्नुपर्छ

काठमाडाैं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चीनसँग जारी सीमा विवादबारे बोलेका छन् ।

अमेरिकी पत्रिका न्युजवीकलाई हालै दिएको अन्तर्वार्तामा मोदीले तत्काल चीनसँग वार्ता गरेर सीमा विवाद समाधान गर्नुपर्ने बताएका छन् । ‘आफ्नो आपूर्ति श्रृंखला विस्तार गर्न चाहने देशहरूका लागि भारत स्वाभाविक विकल्प हो,’ उनले भने ।

मोदीले चीन र भारतले वास्तविक नियन्त्रण रेखा अर्थात् एलएसीको मुद्दा जतिसक्दो चाँडो समाधान गर्नुपर्ने उनले बताए । प्रधानमन्त्री मोदीले चीनसँगको सम्बन्ध भारतका लागि महत्वपूर्ण रहेको बताए। ‘दुई देशबीचको द्विपक्षीय वार्तामा कठिन परिस्थितिलाई पछाडि छोड्न हाम्रा सीमानामा लामो समयदेखि चलिरहेको अवस्थालाई तत्काल समाधान गर्न आवश्यक छ भन्ने मेरो विश्वास छ,’ उनले भने ।

उनले कूटनीतिक र सैन्य तहमा वार्ता भएको उल्लेख गरे । ‘दुई देशबीचको दिगो र शान्तिपूर्ण सम्बन्ध हामी दुवैका लागि मात्र नभई सम्पूर्ण क्षेत्रका लागि महत्त्वपूर्ण छ। मलाई आशा छ कि सकारात्मक द्विपक्षीय वार्ताबाट हामी सीमामा शान्ति स्थापना गर्न सक्षम हुनेछौं,’ उनले भने ।

विपक्षीले पटकपटक चिनियाँ सेनाले भारतीय भूमि कब्जा गरेको आरोप लगाएका छन् । सन् २०२० मा गलवान उपत्यकामा भारतीय र चिनियाँ सैनिकबीच हिंसात्मक झडप भएको थियो । यस भिडन्तमा २० भारतीय सैनिकको ज्यान गएको थियो ।

Facebook Comments