चिनियाँ नागरिकले थाइल्यान्ड र म्यानमारमा नेपाली आईटी इन्जिनियरलाई बन्धक बनाएकाे खुलासा

काठमाडाैं । थाइल्यान्ड र म्यानमारमा नेपाली आईटी इन्जिनियरलाई चिनियाँ नागरिकले बन्धक बनाएकाे खुलासा भएकाे छ। नेपाली इन्जिनियरहरूलाई म्यानमार, थाइल्यान्ड र कम्बोडियामा पनि बन्धक बनाइएको खुलासा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले गरेका छन् ।

प्रहरीको मानव तस्कर रोकथाम नियन्त्रण ब्युरोमा १५ जना नेपालीले आफूहरू थाइल्यान्ड, कम्बोडिया र म्यानमारमा बन्धक भएको भन्दै प्रहरीमा उजुरी दिएपछि याे घटना बाहिरिएकाे हाे ।

ब्युरोका प्रहरी उपरीक्षक (एसपी) कृष्ण पंगेनीले उजुरी आएको पुष्टि गर्दै ब्युरोको टोली अनुसन्धानमा खटिएको जानकारी दिए । उनका अनुसार म्यानमारमा केही नेपाली बन्धक बनेको सूचना हामीलाई प्राप्त भएकाे छ । उनले भने, ‘केही व्यक्ति भागेर नेपाल आएर उजुरी दिएपछि हामी अनुसन्धानमा जुटेका छाैँ।’

ब्युरो स्रोतका अनुसार चीनसँग सीमा जोडिएका थाइल्यान्ड र म्यानमारको भू-भागमा नेपालीहरूलाई बन्धक बनाइएको छ । प्रहरीलाई प्राप्त उजुरीअनुसार बन्धक बनाइएका अधिकांश नेपाली युवा आईटी इन्जिनियरहरू छन् । उनीहरूलाई चिनियाँ नागरिकले ठूलो आर्थिक प्रलोभनमा पारेर थाइल्यान्डदेखि म्यानमार पुर्‍याएका हुन् ।

नेपाल फर्किन सफल केही युवालाई नेपालीकै सहयोगमा चिनियाँ नागरिकले आईटी कार्यालयका लागि भन्दै महिनाको १ लाख अमेरिकी डलर तलब हुने प्रलोभनमा पारेर त्यहाँ पुर्‍याएका थिए ।

त्यसका लागि ठमेलका विभिन्न होटलमा चिनियाँले आईटीसम्बन्धी परीक्षासमेत लिएको खुलेको छ । यसरी चिनियाँले लिएको परीक्षामा पास हुनेलाई दुबईहुँदै म्यानमार र थाइल्यान्ड पुर्‍याएका हुन् ।

म्यानमार र थाइल्यान्डमा पुर्‍याएपछि भने चिनियाँहरूले विभिन्न व्यक्तिलाई क्रिप्टो करेन्सी कारोबारको नाममा लगानी गर्न लगाएर ठगी गर्न लगाउनेदेखि विभिन्न मुलुकका बैंक ह्याक गर्ने काममा खटाउने गरेको खुलेको छ ।

त्यसरी पुग्ने नेपालीलाई बन्धक बनाएर काममा लगाउनेदेखि काम गर्न नसक्नेमाथि शारीरिक यातनासमेत दिने गरेको खुलेको छ । रोजगारीका लागि दुबई पुगेका केही नेपालीहरूसमेत त्यहीँबाट म्यानमार र थाइल्यान्ड पुगेका छन् । बन्धक बनाइएका अधिकांशका परिवार प्रहरीको सम्पर्कमा पुग्न थालेका छन् ।

Facebook Comments