दाङमा कारागारभित्रै महिला बलात्कृत

दाङ । तुलसीपुर कारागार कार्यालयमा कैद भुक्तान गरिरहेकी एक महिला कारागारभित्रै बलात्कृत भएको खुलासा भएको छ ।

ठगी मुद्दामा कैद भुक्तान गरिरहेकी दाङ तुलसीपुरकी ३० वर्षिया महिला गत कार्तिक १७ गते बलात्कृत भएको खुलेको हो ।

कार्तिक १७ गते दिउँसो २ बजे उक्त घटना भएपनि गुपचुप राखिएको उक्त घटना सोमबार मात्रै बाहिर आएको छ । प्रहरीका अनुसार कारागार कार्यालयको भान्सा कोठामा महिला बलात्कृत भएकी थिइन् ।

जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ डुम्म्रीगाउँका २८ वर्षीय खुमबहादुर चौधरीले उनीमाथि बलात्कार गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार पीडित महिला र पीडक चौधरी कारागार कार्यालय तुलसीपुरको चौकिदार रहेका थिए ।

कारागार भित्रको आन्तरिक व्यवस्थापनको जिम्मेवारी समेत उक्त पीडित महिला र पीडक चौधरीले समाल्दै आइरहेकाले पीडकले पीडित भान्सा कोठामा पसेको मौका छोपेर बलात्कार गरेको बताइएको छ ।

यस्तै, गत पुस १६ गते आरोपित, पीडितलगायत साक्षीहरूको बकपत्र भइसकेको प्रहरीले जनाएको छ । अहिले पीडित तुलसीपुर कारागारमा रहेको र पीडकलाई घोराही कारागारमा स्थानान्तरण गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

Facebook Comments