काठमाडाैं । जनमत पार्टी बाराका निवर्तमान जिल्ला सचिव विजय गुप्ता र जनमत पार्टीका केन्द्रीय सदस्य एवं बारा जिल्ला ईन्चार्ज ओमप्रकाश साहले जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं मधेस प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री ई.बसन्त कुशवाहासँग भेटघाट गर्नु भएकाे छ ।
भेटघाटकाे क्रममा किसानहरुको समस्या समाधानका लागि दीर्घकालीन विशेष परियोजनाहरु लागू गरी किसानहरुको जीवन स्तरमा आर्थिक उन्नतिका साथ काया-पलट गर्ने एजेण्डामा गहन छफफल भएकाे थियाे ।
साथै गुप्ताले छफफलकाे क्रममा सुझाव राख्दै भन्नुभयाे,’मधेस प्रदेशमा करिब ८१ प्रतिशत कृषि योग्य जमिन रहेको छ, सो कृषि योग्य जमिनलाई सदुपयोग गरी आधुनिक तरिकाले खेती गराउदाँ मधेसी जनताहरुको आर्थिक स्तर उचाइमा पुग्नेछ र मधेस प्रदेशको आर्थिक स्तर सबल हुनेछ।’
कृषि प्रयोजनका सामग्रीमा किसानहरुलाई विशेष अनुदान दिनुपर्ने वा कृषि औजार लाइब्रेरीको व्यवस्था हुनुपर्ने र प्रदेश सरकारले मधेस प्रदेशमा खास गरी उत्पादनशिल क्षेत्रमा लगानी गर्नुपर्नेमा छलफलकाे क्रममा गुप्ताले जाेड दिनुभएकाे थियाे।
छलफलकाे क्रममा पछिल्लाे सरकारले मधेसमा कृषि क्षेत्रमा खासै उपलब्धि मुलक काम गर्न नसकेको र केही गरे पनि योजनाहरुको सञ्चालन तथा निरीक्षण तथा अनुगमनमा पुर्णता दिन नसकेकोले राम्रो रिजल्ट दिन नसकेकाे बारे उहाँहरूले जानकारी गराउनु भएकाे थियाे।
त्यसैले अबको दिनमा कुनै पनि परियोजनाको सञ्चालन (लागू) र निरीक्षण तथा अनुगमनमा पुर्णता दिन समेत उहाँहरूले आग्रह गर्नु भएकाे थियाे । भेटघाट पश्चात कृषि मन्त्री कुशवाहाले मधेसमा किसानको लागि किसान कार्डको व्यवस्था गर्ने कार्ययाेजना बनाउने बताउनु भएकाे छ।
कृषि मन्त्री कुशवाहाले किसानहरुको लागि किसान कार्डको व्यवस्था गर्नका साथै किसानको विभिन्न समस्याहरुको क्रमबद्ध तरिकाले समाधान गर्ने प्रतिबद्धता गर्नु भएकाे थियाे ।
Facebook Comments