काठमाडौं । नेपालका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई खोज्न नेपाल प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोग लिने प्रक्रिया सुरु गरेको छ ।
नाबालिग बलात्कार गरेको अभियोगमा लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी जारी भएको छ । त्यही आधारमा उनको खोजीका लागि इन्टरपोलमार्फत रेड नोटिस जारी गराउन प्रक्रिया अघि बढाइएको हो । यो नोटिस जारी भए इन्टरपोलका सदस्य राष्ट्र रहेका १९५ देशका सुरक्षा निकायले उनको खोजी गर्नेछन् ।
प्रहरी प्रधान कार्यालय नक्सालका एक उच्च अधिकृतका अनुसार महानगरीय प्रहरी परिसर काठमाडौंको आग्रहमा इन्टरपोलको नेशनल कन्ट्रोल ब्यूरो (एनसीबी) काठमाडौंले रेड नोटिस जारी गराउने प्रक्रिया अघि बढाएको हो ।
‘अदालतबाट पक्राउ पूर्जी जारी नभएको भए डिफ्यूजनका लागि प्रक्रिया अघि बढाउन सक्थ्यौं,’ उनले भने, ‘तर अदालतबाट पूर्जी जारी भइसकेकाले अनुसन्धानका क्रममा देखिएका थप प्रमाण समेत उल्लेख गरेर रेड नोटिस जारी गराउन कागजात जुटाउन थालेका छौं ।’
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार एनसीबी काठमाडौंले केही दिनमै इन्टरपोलको फ्रान्सस्थित हेडक्वार्टरलाई पत्राचार गर्नेछ । ‘यहाँबाट पठाएको पत्रको आधारमा नोटिसबारे इन्टरपोल सचिवालयबाट अन्तिम निर्णय हुनेछ,’ ती अधिकृतले भने ।
लामिछाने ६ भदौमा टी–२० सिरिज खेल्न केन्या गएका थिए । त्यसको अघिल्लो राति उनले काठमाडौंको पिंगलास्थानस्थित एक होटलमा लगेर १७ वर्षकी किशोरीलाई जबरजस्ती करणी गरेको अभियोग छ ।
उनी आफैं मध्य बानेश्वरस्थित होस्टल नजिकै पीडितलाई लिन गएका थिए । खाजा खाने बहानामा भक्तपुरको नगरकोटमाा लगेको र ढिला गरी फर्किएको पीडितको जाहेरीमा उल्लेख छ । काठमाडौं आइपुग्दा राति साढे १० भइसकेको थियो र होस्टल बन्द हुने भन्दै उनलाई होटलमा बस्न लामिछानेले भनेका थिए ।
मध्यराति उनले पटकपटक बलात्कार गरेको भन्दै २१ भदौमा प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दर्ता भएको थियो । त्यसपछि उनले सामाजिक सञ्जालमा फेसबुकमा स्ट्याटस लेख्दै उनले आफू निर्दोष रहेको र कानूनको सम्मान गर्दै नेपाल आउन लागेको बताएका थिए । तर अहिले उनी सम्पर्कविहीन छन् । उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न त्यहीँबाट जमैका गएका थिए । उनीसँग अमेरिका, क्यानडा, बेलायत, अष्ट्रेलिया लगायतका मुलुकको भिसा पनि छ ।
Facebook Comments