भारत सरकारको अनुदान सहयोगमा सुनसरीमा दुईवटा विद्यालय भवनको उद्घाटन

काठमाडाैँ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र नेपाल सरकारका माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आज सुनसरी जिल्लामा दुईवटा विद्यालय परियोजनाको संयुक्त रुपमा उद्घाटन गरे ।

यी दुई परियोजनामा नेपाल पुलिस स्कुलका लागि निर्मित विद्यालय भवन, छात्रावास भवन तथा खेलकुद मैदान र श्री महेन्द्र माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय भवन रहेका छन् ।

भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा नेरु.४ करोड ८९ लाखको लागतमा जिल्ला समन्वय समिति सुनसरीले यी दुई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयन गरेको हो । यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “India@75 आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ परियोजनाहरु मध्येको एक रहेको दूतावासद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ ।

सन् २००३ यता भारतले नेपालमा ५३२ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७५ वटा परियोजना सम्पन्न भइसकेका छन् । ती मध्ये सुनसरी जिल्लाका १२ गरी प्रदेश नं. १ मा ८० वटा रहेका छन् ।

भारत र नेपालबीच बहुआयमिक एवम् बहुपक्षीय विकास साझेदारी रहेकोे छ जसले दुई देशका जनताबीचको निकटतालाई प्रतिबिम्बित गर्दछ । यी परियोजनाहरुको कार्यान्वयनले सामाजिक–साँस्कृतिक पूर्वाधार तथा जनता–जनताबीचको सम्बन्धको विकासमा भारत सरकारले पुर्याउदै आएको सहयोगलाई प्रतिबिम्बित गर्न उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Facebook Comments