
काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यकाभित्र चल्ने सार्वजनिक सवारी साधनमा जीपीएस जडान गर्ने योजना अघि सारेको छ।
मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईलाई भेटेर महानगरका मेयर बालेन्द्र शाहले उपत्यकाका सार्वजनिक सवारी साधनमा जीपीएस जडान गर्ने योजना सुनाएका हुन्। यसमा साथ दिन उनले मन्त्री राईलाई आग्रह गरेका थिए।
‘उपत्यकाका सार्वजनिक सवारी साधनमा जीपीएस जडान गर्ने, ट्रयाकर राइडर गर्ने, अथवा सुरक्षित गन्तव्यमा पुग्ने मेकानिजम बनाउने कुरामा उहाँहरुको चासो छ,’ मन्त्री राईले भने, ‘त्यसमा प्राविधिक सहयोग हामीले गर्छौं।’ महानगर क्षेत्रमा सार्वजनिक सवारी साधन व्यवस्थित गर्ने विषयमासमेत छलफल गरिएको मन्त्री राईले जानकारी दिए।
मेयर शाहले व्यापारिक कम्पलेक्सका अण्डरग्राउण्ड पार्किङका भनेर लिने र अर्कै प्रयोगजनमा प्रयोग भइरहेकाले त्यसलाई हटाउन ३५ दिने सूचना जारी गरिएको मन्त्री राईलाई जानकारी गराउँदै मन्त्रालयबाट पनि हटाउनका लागि सहयोग गरिदिन आग्रह गरेका थिए।
‘भवन अण्डरग्राउण्डमा पार्किङ लिएर अरू व्यवसाय सञ्चालन गरिरहेकालाई हटाउन सूचना निकालेका छौं। यसमा मन्त्रालयले पनि समर्थन गरिदिनुपर्यो। सिटी सेन्टरलगायतबाट हटाउने अभियानमा छौं,’ मेयर शाहले भने।
Facebook Comments