डोटीमा भारतीय सहयोगमा बनेको विद्यालय भवन उद्घाटन

काठमाडाैँ । भारत सरकारको अनुदान सहयोगमा डोटीको जोरायल गाउँपालिका–४ कुण्डीकोटमा निर्माण सम्पन्न भएको श्री घण्टेश्वर माध्यमिक विद्यालयको भवन तथा छात्रावास उद्घाटन गरिएको छ ।

काठमाडौंस्थित भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्त कुमार सोना र जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले संयुक्त रुपमा भवन तथा छात्रावासको उद्घाटन गरेका हुन् ।

शिक्षा क्षेत्रमा भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत सामुदायिक विकास परियोजनाको रुपमा भारत सरकारको आर्थिक सहयोग ९६.९ लाख रुपैयाँको लागतमा परियोजनाको निर्माण भएको हो । यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “India@75 आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ परियोजनाहरु मध्येको एक हो ।

६५० भन्दा बढी विद्यार्थीहरु अध्ययनरत यो विद्यालय डोटी जिल्लाकै एक प्रतिष्ठित विद्यालय हो । यस नवनिर्मित पूर्वाधारले विद्यालयमा सिकाईका लागि उपयुक्त वातावरणको सिर्जना गर्ने भारतीय दूतावासले जनाएको छ ।

सन् २००३ यता भारतीय सहयोगमा नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७० वटा परियोजना सम्पन्न भइसकेका छन् । ती मध्ये डोटी जिल्लाका ३ गरी सुदूरपश्चिम प्रदेशमा ३४ वटा रहेका छन् ।

Facebook Comments