विप्लव कार्यकर्ताले सहायक वन अधिकृतलाई दले कालोमोसो

कैलाली । कैलालीमा विप्लव कार्यकर्ताले सहायक वन अधिकृतलाई कालोमोसो दलेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कैलालीको पचमुडिया सव डिभिजन कार्यालयका सहायक वन अधिकृत विश्वराज पण्डितलाई कालोमोसो दलेका हुन् ।

आफुलाई विप्लवका कार्यकर्ता बताउने समुहबाट काम भन्दै एक्कासी कालो मोसो दलेको पण्डितले जानकारी दिए । आतंकको किन विरोध गरेको भन्दै एक्कासी दुव्र्यवहार गरिएको उनको भनाई छ । केही समय अगाडि उक्त सव डिभिजनअन्तर्गत पर्ने कैलालीका सामुदायिक वनमा विप्लवका कार्यकर्ताले चन्दा असुली गरेका थिए ।

सामुदायिक वनमा आफूले तोकेको रकम चन्दा स्वरुप नदिएमा भौतिक कारबाही गर्ने धम्की दिन थालेपछि सामुदायिक वनले समूहमा निर्णय गरेर नेपाल कम्युनिष्ट पार्टीलाई चन्दा दिएका थिए । चन्दाबारे उक्त समिति र सञ्चारमाध्यमलाई जानकारी दिएको भन्दै पण्डितलाई कालोमोसो दलिएको बुझिएको छ ।

Facebook Comments