एकैदिन ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं- देशभर पछिल्लो २४ घण्टामा थप ११ हजार ३५२ मा कोरोना संक्रमण पुष्टि भएको छ। यो सङ्ख्या मङ्गलबार देखिएको नयाँ संक्रमिततभन्दा एक हजार ९४ ले बढी हो। मङ्गलबार देशभरमा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको थियो। आज कोरोनासंक्रमणबाट चार जनाको मृत्यु भएको छ।

उपत्यकाका तीन जिल्लामा आज छ हजार ३४३ नयाँ सङ्क्रमित थपिएका छन्। काठमाडौँमा चार हजार ६६६, ललितपुर एक हजार १९ र भक्तपुरमा ५७८ नयाँ सङक्रमित थपिएकोे मन्त्रालयले जनाएको छ। नयाँ संक्रमितमध्ये नौ हजार ५०२ को पीसीआर र एक हजार ८५० को एन्टीजेन विधिबाट परीक्षण गरिएको थियो।

पछिल्लो २४ घण्टामा २३ हजार ४०९ को नमूना परीक्षण गरिएको थियो। १८ हजार ७८ जनाले पीसीआर र पाँच हजार ३३१ ले एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यो अवधिमा जम्मा परीक्षणमध्ये औसत संक्रमणदर ५२ दशमलव दुई प्रतिशत छ। हालसम्मको उच्च संक्रमणदर भएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले बताए।

हाल भेन्टिलेटरमा रहनेको सङ्ख्या जम्मा २८ र आइसियुमा १६९ जना रहेका छन्। होम आइसोलेशनमा ४६ हजार ५१५, संस्थागत आइसोलेशनमा एक हजार ४१४ गरी आइसोलेशनमा जम्मा ४७ हजार ९२९ रहेका छन्।

संस्थागत क्वारेन्टिनमा १२६ रहेका छन। कोभिड सङ्क्रमण दैनिजक बढिरहेकाले सबै सङ्घसंस्थाले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने मन्त्रालयका सहप्रवक्ता डा अधिकारीको भनाइ छ। सभा, सम्मेलन र भेला सकेसम्म ‘भर्चुअल’ गर्ने र भौतिक उपस्थितिमै गर्नुपरेमा २५ जनासम्म मात्रैको उपस्थितिमा गर्नुपर्ने उनले बताए।

Facebook Comments