कोभिड ‘हटस्पट’ बन्यो काठमाडौँ उपत्यका

काठमाडौँ- दिनप्रतिदिन बढीरहेको कोभिड-१९ संक्रमितको संख्याले काठमाडौँ उपत्यका हटस्पट बन्दै गइरहेको छ । काठमाडौँ उपत्यकामा सक्रिय संक्रमित १० हजार ८ सय ११ जना छन् । काठमाडौँमा ७ हजार ६ सय २५, भक्तपुरमा १ हजार २ सय ५१ र ललितपुरमा १ हजार ९ सय ३५ जना सक्रिय संक्रमित छन् ।

शुक्रबार मात्र उपत्यकामा स्वास्थ्य मन्त्रालयकाअनुसार २६०७ जना संक्रमित थपिएका छन् । काठमाडौँमा १९१३, भक्तपुरमा ३१७ र ललितपुरमा ३७७ संक्रमित थपिएका हुन् ।

काठमाडौँमा मात्र करिब १५ वटा कोभिड-१९ विरुद्ध लगाइने खोप केन्द्र छ । खोप केन्द्रमा खोप लगाउनेको भीडभाड छ । खोप लगाए पनि सामाजिक दूरी कायम गरिएको छैन । मास्क बिना सार्वजनिक स्थानमा मानिसहरूको ओहोरदोहोर छ ।

उपत्यकाको चोक-बजारमा मानिसहरूले सामाजिक दूरी कायम नगरी आफ्नो दैनिकी सञ्चालन गरिरहेका छन् । सार्वजनिक यातायातमा पनि मानिसहरूले जनस्वास्थ्यको मापदण्ड अपनाएका छैनन् । तर, उपत्यकामा संक्रिमतको संख्या बढ्दा कोभिडको हटस्पट बनिरहेको छ ।

सार्वजनिक यातायात, चोक र कोभिड खोप केन्द्रमा मानिसहरूको भिडभाड बढनुले संक्रमित बढिरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका पूर्व निर्देशक सागरकुमार राजभण्डारी बताउँछन् ।

‘सार्वजनिक स्थानमा भिडभाड बढ्नु‍ले कोभिडलाई पुनः निम्त्याउने जोखिम बढ्दै गएको छ,’उनले भने,’ विदेशबाट आएका मानिसहरू सहजै आवतजावत गरिरहेका छन् । कोभिड परीक्षणको दायरा बढाइनुपर्छ । उनीहरूलाई कडाइका साथ क्‍वारेन्टीनमा राखिनुपर्छ ।’

उपत्यका प्रवेश नाकामा अहिलेको ओमिक्रोनको जोखिम रहेकाले मुख्य-मुख्य नाकामा कडाई क्‍वारेन्टीन बसाइलाई कडाइ गरिनुपर्ने उनको भनाइ छ । संक्रमितहरूको सम्पर्कमा रहेकाहरूकोसमेत प्रभावकारी रुपमा कन्ट्रयाक ट्रेसिङ नभइरहेको उनले बताए ।

जनस्वास्थ्यविद डा. किरणराज पाण्डेकाअनुसार उपत्यकामा मानिसहरूको चाप बढी रहेकाले पनि यहाँ संक्रमणको संख्या अधिक हुनु सामान्य मानिन्छ । सबैतर्फ खुला रहेको अवस्थामा मानिसले सामाजिक दूरी कायम गर्न असम्भव हुने उनको तर्क छ ।

‘मानिसलाई बाहिर ननिस्कयोस भन्ने लाग्छ सरकारले कडा नीति अपनाउनुपर्छ,’ डा. पाण्डेले भने । घना बस्ती र सहरी क्षेत्रमा आफैँ संक्रमण रोग फैलने धारणा व्यक्त गरे । राज्यका सम्पूर्ण संयन्त्र उपत्यकामा रहेकाले बढी भीडभाड हुँदा पनि संक्रमितको संख्या बढेको उनको भनाइ छ ।

Facebook Comments