भित्री सडकमा गुडाउन साझाले ४ साना विद्युतीय बस ल्याउने, पर्यटक र बृद्धबृद्धाले भाडा तिर्न नपर्ने

काठमाडौं । साझा यातायातले ललितपुरको भित्री सडकमा गुडाउन ४ वटा साना विद्युतीय बस किन्ने भएको छ । साझाले ललितपुर महानगरपालिकाको सहकार्यमा महानगरका भित्री सडकमा गुडाउन ४ साना विद्युतीय बस ल्याउने भएको हो ।

साझाले उक्त ४ बस ल्याउन श्री इको भिजियोनर कम्पनीलाई ठेक्का दिएको छ । उक्त कम्पनीले चालु आर्थिक वर्षभित्र ४ बस ल्याउने गरी ठेक्का दिइएको साझाका कार्यकारी निर्देशक भुषण तुलाधारले बताए ।

उनका अनुसार इकोले १ करोड २० लाख रुपैयाँमा उक्त बस ल्याउने ठेक्का पाएको हो । ती बस पर्यटन प्रबद्र्धनका लागि समेत निकै उपयोगी हुने उनले बताए । उनका अनुसार ठेक्का पाएको कम्पनीले १२ सिटे बस ल्याउने छ । ३ वर्षसम्म ती बसको मर्मत समेत सोही कम्पनीले गर्नेछ ।

ललिपुरको पुलचोक–मंगलबजार–पाटन–पुलचोक रुटमा गुडाउने गरी सो साना बस ल्याउन लागिएको हो । ‘यो बस हामीले ललितपुरका भित्री सडकमा गुडाउने छौँ, केही रुट छनोट भइसकेको छ, केही ल्याएपछि पनि थप गरिनेछ,’ तुलाधारले चाणक्य पोष्टसँग भने ।

उनका अनुसार ती बसमा विदेशी पर्यटकका साथै बृद्धबृद्धा र बच्चालाई निःशुल्क यात्राको व्यवस्था गरिने छ । साझाले उक्त बसको भाडादर भने तोकिसकेको छेन । बस ल्याएर ट्रायल पछि मात्र भाडादर तोकिने उनले बताए ।

‘यो बसलाई पर्यटकलाई विभिन्न पर्यटकीय स्थानमा जान सजिलोका लागि संचालन गर्न लागिएको हो । त्यसका साथै जेष्ठ नागरिकलाई पनि नजिकको स्थान जान यसले टेवा पुराउने छ,’ तुलाधारले भने ।

४० ठूला बस चिनियाँ कम्पनीले बनाउँदै

साझाले यसअघि नै देशका विभिन्न ठाउँमा संचालन गर्नका लागि ४० वटा ठूला विद्युतीय बस ल्याउन ठेक्का लगाइ सकेको छ । सोही अनुसार अहिले चिनियाँ कम्पनी सीएचटीसी (नान्जिङ) अटो कम्पनी लिमिटेडले ४० वटा विद्युतीय बस निर्माण गरिरहेको छ ।

गत असोज २२ गते साझा यातायात र चीनको सीएचटीसी कम्पनी बीच बस खरिद सम्बन्धी सम्झौता भएको थियो । साझाका कार्यकारी निर्देशक तुलाधारले अहिले उक्त कम्पनीले साझाको विद्युतीय बस निर्माण गरिरहेको बताए ।

‘अहिले चिनियाँ कम्पनीले बस बनाउन सुरु गरिसकेको छ, चाँडै ३ वटा बस परीक्षणका लागि ल्याउने छौं, त्यसपछि अन्य बस पनि ल्याउछौं ,’ तुलाधारले चाणक्य पोष्टसँग भने ।

३ वटा बस ल्याएपछि काठमाडौँको सडकमा गुडाउन कस्तो छ भनेर परीक्षण गरिने उनले बताए । उक्त ३ वटा बस ल्याइएको अर्को ४ महिनापछि बाँकी ३७ वटा बस आयात गरिने छ । चालु आर्थिक वर्ष २०७८/७९ भित्र विद्युतीय बस ल्याएर काठमाडौं भित्र गुडाउने तयारीका साथ काम भइरहेको तुलाधारले बताए ।

साढे ८ मिटरको २६ सिटे बस आयात गरिने भएको हो । साझा यातायातले भ्याट सहित ६१ करोड रुपैयाँ लगानीमा ४० वटा विद्युतीय बस ल्याउने भएको हो । बसका लागि आवश्यक चार्जर सोही कम्पनीले ल्याउने छ । उक्त कम्पनीले बस ल्याएको ५ वर्षको मर्मत सम्भार समेत निःशुल्क गर्नुपर्ने व्यवस्था सम्झौतामा उल्लेख भएको उनले बताए ।

एउटा गाडीको मूल्य भ्याट सहित डेढ करोड रुपैयाँ हाराहारी पर्ने अनुमान गरिएको छ । कम्पनीले २० वटा चार्जिङ स्टेसन बनाएर दिने छ । २६ सिट क्षमताका बस अपाङ्गतामैत्री रहने छन् । यी बस एकपटक चार्ज गरेपछि ४२ भन्दाबढी यात्रु राखेर २०० किमी गुड्न सक्नेछन् ।

Facebook Comments