राष्ट्रपतिदेखि पूर्वराजासम्मले टेरेनन् गृहकाे निर्देशन

काठमाडौँ – कोभिड संक्रमण बढेपछि सोमबार गृहमन्त्रालयले २५ जनाभन्दा धेरै भेला हुन नपाइने भनेर सर्कुलर जारी गर्‍यो । गृहको सर्कुलरको अर्थ थियो भीडभाड नहोस्, कोभिड संक्रमणको वृद्धि दरमा कमी आओस् । तर, गृहको सर्कुलर जारी भएको २४ घन्टा नबित्दै राष्ट्रपतिदेखि पूर्वराजा हुँदै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसम्मले सयौँ मानिस भेला भएको कार्यक्रममा सहभागी भएर त्यसको धज्जी उडाए ।

आज तीन सयौँ पृथ्वी जयन्तीको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार मूलगेट अगाडिको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने क्रममा कोभिडको महामारी न्यूनीकरण गर्न जारी गरिएको प्रोटोकल उल्लघंन गरिन् ।

नेपाली सेनाको विशेष टुकुडीसहित उनले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरिन् । जहाँ सयौँ संख्यामा मानिसहरू भेला भएका थिए । सरकारले पृथ्वीनारायण शाहको जन्मजयन्तीमा सार्वजनिक बिदा नदिए पनि आज देशभर पृथ्वी जयन्ती विशेष रूपले मनाइएको छ ।

सरकारले नै जारी गरेको सुरक्षा मापदण्डलाई राष्ट्रपति भण्डारीले नै चुनाैती दिइन् । राष्ट्रपतिसँगै केही राजनीतिक दलका नेताहरू सिंहदरबार अघि शालिकमा माल्यार्पण गर्न पुगेका थिए। राजतन्त्र हुँदा नेपालमा पृथ्वी जयन्तिको दिन सार्वजनिक बिदा दिने गरिए पनि गणतन्त्रपछि भने बिदा नै कटौती गरिएकाे हाे।

त्यस्तै पूर्वराजा ज्ञानेन्द्र शाहले पनि सिंहदरबारको मुख्य गेटबाहिर रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन्। राष्ट्रपति भण्डारीले पृथ्वीनारायणको सालिकमा माल्यार्पण गरिसकेपछि पूर्वराजा शाहले माल्यार्पण गरेका थिए । पूर्वराजा शाह पनि राष्ट्रपति भण्डारी जस्तै समर्थक र दलबलसहित माल्यार्पण गर्न पुगेका थिए । पूर्वराजा शाहकाे समर्थनमा सयाैँकाे संख्यामा मानिसहरूकाे उपस्थिति थियाे । राष्ट्रपतिले जस्तै पूर्वराजा शाहले पनि गृहकाे निर्देशन टेरेनन् ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरू पनि पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न सिंहदरबारको मुख्य गेटबाहिर पुगे । उनीहरूले पनि गृहद्वारा जारी काेभिड प्राेटाेकलकाे वास्ता नगरी स्वास्थ्य सुरक्षा मापदण्डलाई चुनाैती दिए ।

कोभिड १९ को खतरा आउन सक्ने भन्दै सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा २५ जनाभन्दा बढी उपस्थित हुने गरी प्रशासनिक सामाजिक एवम् त्यही प्रकृतिकाे कार्यक्रम नगर्न आह्वान गर्न गृहले सुरक्षा प्रमुखसहित ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई साेमबार परिपत्र गरेको थियाे।

गृहले जारी गरेकाे परिपत्रमा भनिएकाे छ,’ अत्यावश्यक नियमित कार्यक्रमकाे हकमा स्थानीय प्रशासनकाे अनुमति लिएर गर्ने व्यवस्था मिलाउने । अर्काे सूचना नभएसम्म सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला, भेला तथा महाेत्सवहरु आयाेजना नगर्न नगराउन आवश्यक व्यवस्था गर्ने । जिल्लाले आफ्ना जिल्ला र स्थानीय तहकाे अवस्थाकाे विश्लेषण गरी परिस्थितिजन्य लचकता वा कडाइ गर्न समेत सक्ने।’

गृहले साेमबार ७७ वटै जिल्ला प्रशासन तथा सुरक्षा प्रमुखहरुकाे नाममा कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले गरेका निर्णयहरु कार्यान्वयन गर्ने सम्बन्धमा परिपत्र गरेका थियाे । त्यस्तै नेकपा एमालेले पनि कोभिडको बेवास्ता गर्दै जिल्ला अधिवेशन गरिरहेको छ ।

Facebook Comments