काठमाडौं। २०२१ लाई बिदा गरे लगत्तै नेप्से फेरि बढ्ने क्रम सुरु भएको छ। २०२१ को अन्तिम कारोबारी दिन २५२४.५१ अंकमा रहेको धितोपत्र बजार मापक नेप्से परिसूचक २०२२ को छैटौं दिनसम्म आइपुग्दा १६७.९६ अंकले वृद्धि हुँदै २६९२.४७ को विन्दुमा कायम छ।
एक साताको अन्तरालमा नेप्सेमा झन्डै ७ प्रतिशतको वृद्धि देखिएको छ। पछिलो समय राष्ट्र बैंकले आपनाएको विभिन्न नीतिगत परिवर्तन र तत्काल बजारमा सृजना भएको तरलता अभावले बजारमा निरन्तर ओरालो लाग्ने क्रम रोकिएको थिएन। तर सूचीकृत कम्पनीहरुको प्रतिफल वितरणका कारण बजार केही समयका लागि भए पनि माथि धकेलिएको थियो।
२४८० अंकमा रहेको बजारले छोटो समयमा नै ४०० अंकको वृद्धि लिन सफल भयो। तर चुलिदै गएको तरलता अभाव र ब्याजदर वृद्धिले गर्दा नबिसाइ बढेको बजार २२८० को विन्दुबाट नै फर्कियो। त्यसबेला बजार २२६० अंकसम्म झर्न पुग्यो।
अंग्रेजी नयाँ वर्ष अघिदेखि भने बजारमा सकारात्मक अवस्था छ। सम्बन्धित निकायहरुले चालेको नीतिगत सुधार र तरलता व्यवस्थापनका कदमले बजारमा लाभदायक प्रभाव परेको देखिन्छ।
राष्ट्र बैंकले मंसिर महिनामा स्वीकृत गरेको पुनार्कर्जा र हालचालै निक्षेपको रुपमा परिचालन गरेको स्थानीय तहको रकमले तरलता अभावलाई बाँध लगाउने काम गरेको छ। सोही कारण करिब डेढ महिनादेखि लगातार घटेको बजारले २०२२ सुरु भए लगत्तै राम्रा प्रदर्शन गरेको छ।
छोटो समयमा निकै घटेको बजार अहिले दिनहुँ जस्तो हरियै देखिन्छ।बजारको वृद्धिलाई कारोबार रकमको साथ पनि मिलेको छ। कारोबार रकम औसतमा ४ अर्ब माथि नै छ।
नेप्से सूचक मात्र नभएर यो साता कारोबार रकम र कारोबार मात्रा दुवैमा पनि आकर्षक वृद्धि देखिएको छ। सन् २०२१ लाई बिदा गरेको सातामा रु.१७ अर्ब ५२ करोड ४९ लाख ९७ हजार रुपैयाँको २ करोड ६४ लाख ८६ हजार १३४ कित्ता सेयर किनबेच भएको थियो। यता, चालु साताको अन्तिम कारोबारी दिनसम्मको कारोबार रकम र मात्राको तथ्यांक हेर्ने हो भने यस अवधिमा रु. २१ अर्ब १७ करोड ६० लाख ३१ हजार बराबरको ३ करोड ६३ लाख ७७ हजार १७१ कित्ता सेयर कारोबार भएको छ।
यो साता नेप्सेमा ३ अर्ब ६५ करोड १० लाख ३३ हजार रुपैयाँको ९८ लाख ९१ हजार ३७ कित्ता बढी सेयर कारोबार भएको तथ्यांकले जनाएको छ। समीक्षा अवधिमा कारोबार रकम २०.८३ प्रतिशतले बढेको छ भने कारोबारी मात्रा ३७.३४ प्रतिशतले वृद्धि भएको देखिन्छ।
गत साता निकै उतारचढाव देखिएको बजार यो हप्ता भने निरन्तर उच्च अंकमा साथ बढ्यो। लगातार बढिरहेको बजारमा लगानीकर्ताहरुले आर्जन गरेको उत्साहजनक नाफा बुक गर्न थालेपछि बुधबार भने बजारले ओरालोको यात्रा तय गरेको थियो। ओरलो लागेको बजार कुन दिशातर्फ लग्ला भन्ने विषयमा निकै अन्योल छायो। तर, लगानीकर्ताहरु बजारप्रति सकारात्मक हुँदा घटेको विन्दुबाट फर्कन खासै समय भने लागेन। सो दिन ३० अंक अधिकको गिरावट आएको थियो।
निरन्तर दोहोरो अंकले बढिरहेको बजारसँगै बढेका लगानीकर्ता र उनीहरुमार्फत भित्रिएको रकमले नेप्सेसँगै कुल बजार पुँजीकरणमा पनि सकारात्मक प्रभाव परेको छ। गत साताको अन्तिम कारोबारी दिन ३५ खर्ब ६७ अर्ब ३४ करोड रुपैयाँ रहेको कुल बजार पुँजीकरण यो साताको कारोबार पछि ३८ खर्ब ३ अर्ब ३४ करोड रुपैयाँमा पुगेको छ। यस अवधिमा कुल बजार पुँजीकरण २ खर्ब ३५ अर्ब ९९ करोड रुपैया अर्थात ६.६२ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ।
समीक्षा अवधिमा अधिकांश उपसूचकहरु पनि नेप्सेसँगै उकालो लागेका छन्। १३ वटा उपसूचकमध्ये यो साता सर्वाधिक वृद्धि विकास बैंक उपसमूहले लिएको छ। एक हप्तामा विकास बैंक उपसमूह झन्डै ११ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, जलविद्युत उपसमूहमा पनि उत्साहजनक वृद्धि देखिएको छ। जलविद्युत उपसमूह ८.३७ प्रतिशतले बढेको छ। यस अवधिमा वित्त उपसमूह लगभग ८ प्रतिशतले वृद्धि हुँदा लगानी उपसमूह, वाणिज्य बैंक उपसमूह र व्यापार उपसमूह ७ प्रतिशत अधिकले बढेका छन्।
यता सबैभन्दा कम वृद्धिदर सामूहिक लगानी कोष उपसमूहको छ। गत साताको तुलनामा सो उपसूचक २.२१ प्रतिशतले बढेको छ। यस उपसूचक अन्तर्गत कैयौँ योजनाहरु प्रति इकाई मूल्य भन्दा पनि तल आइसकेका छन्। परिपक्क हुने अवधि नजिकिएका म्युचुअल फण्डहरु डिस्काउन्टेड(छुट) मूल्यमा किन्ने अवसर अब बजारमा प्रशस्तै भेटिन्छन्। बजार अध्धयन गर्ने उत्कृष्ट समय नै यही हो। त्यस्तै, अन्य उपसमूह र उत्पादन र प्रशोधन उपसमूह पनि गत साताको तुलनामा ३ प्रतिशत अधिकले बढेका छन्।
केही समय बजारमा कायम नीतिगत र तरलताको समस्याले सिमित गतिमा हिंडेको धितोपत्र बजार, दुई महिनादेखि स्थिर ब्याजदर, आयातमा राष्ट्र बैंकले लगाएको लगाम र मार्केटमा रहेको तरलता व्यवस्थापनले गर्दा छोटो समयमा निकै राम्रो वृद्धि लिन सफल भयो। पुस मसान्तमा अग्रिम आयकर लगायत भुक्तानी गर्नुपर्ने हुनाले तरलता अभाव चर्किने सम्भावना विपरीत बजार उच्च अंकका साथ बढिरहेको छ। एक दिनको करेक्सनले पनि बजारमा खासै प्रभाव नपरे पछि बजारको आधारभूत र प्राविधिक पक्ष दुवै सुदृढ हुँदै आएको अनुमान गरिएको छ।
यही समस्या र समाधान बीच अल्झिरहेको धितोपत्र बजारमा यो हप्ता सृजना भएको सकारात्मक तरंगले लगानीकर्ताको मनोबल अझ बलियो बनाएको बुझिन्छ। सम्बन्धित निकायहरुले समाधानका विभिन्न पक्षलाई अध्ययन गरिरहँदा नेप्सेमा सूचीकृत कम्पनीहरुले पनि प्रतिफल प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाउन सुरु गरे। कतिपयले त गत आर्थिक वर्षको प्रतिफल सेयरधनिमाझ वितरण पनि गरिसकेका छन्।
बजार घट्दै गर्दा न्यून मूल्यमा आएका बलियो आधारभूत क्षमता भएका कम्पनीहरु प्रति लगानीकर्ताको आकर्षणले पनि उत्तिकै बढेर गरेको छ। लाभांश सिजनमा सस्तिएका कम्पनीहरुमा लगानीकर्ता झुम्मिदा बजारले उकालोको यात्रा सजिलै तय गरेको विश्लेषकहरुको टिप्पणी छ। विगत धेरै आर्थिक वर्षदेखि निरन्तर लाभांश वितरण गर्दै आएका पुँजीगत आधार बलिया भएका कम्पनीहारुमा यो हप्ता उत्साहजनक वृद्धि आएको छ।
तत्काल लाभांश वितरणको सिजन चलिरहँदा संस्थापक सेयरहरु प्रति लगानीकर्ताहरुको आकर्षण बढिरहेको पाइन्छ। यो साता नेपाल फाइनान्सको संस्थापक सेयरमा उत्साहजनक वृद्धि देखिएको छ। सो धितोपत्र एक हप्ताको अवधिमा सर्वाधिक १७६ प्रतिशत अधिकले वृद्धि भएको छ। भर्खरै सूचीकृतमध्ये भोटेकोशी जलविद्युत कम्पनी र गरिमा विकास बैंकको संस्थापक सेयरका लगानीकर्ताले दुवैले यो साता ६० प्रतिशत अधिकका दरले कमाएका छन्।
साधारण सेयरको तुलनामा निकै कम मूल्यमा पाइने संस्थापक सेयर प्रतिफल प्राप्तिका दृष्टिकोणबाट हेर्दा निकै फलदायी हुने गर्दछ। मूल्यको अनुपातमा यी सेयरको प्रतिफल निकै आकर्षक हुन्छ। यो साता युनाइटेड इन्स्योरेन्सको सेयरमा पनि झन्डै ४० प्रतिशतको वृद्धि देखिएको छ। यो साता वित्त उपसमूहका धितोपत्रहरुमा पनि सन्तोषजनक वृद्धि देखिन्छ। फर्स्ट माइक्रो फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स र गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्सका लगानीकर्ताले यो साता २० प्रतिशतका दरले कमाएका छन् ।
हप्ताभरमा सर्वाधिक गुमाउने गुर्खाज फाइनान्सका लगानीकर्ता हुन्। कम्पनीको सेयर चालु साताको अन्तम कारोबारी दिन सम्म आइपुग्दा झन्डै ७ प्रतिशतले गिरावट आएको छ। गत साताको तुलनामा यो साता नौ कम्पनीहरुको मूल्य घटेको छ भने सूचीकृत १०७ वटा धितोपत्रहरुको मूल्य गत साताको तुलनामा स्थिर छन्।
बजार ३००० माथि रहँदा नाफा बुक गरेका लगानीकर्ता पनि घट्दो बजारको अवसरलाई आकलन गर्दै प्रवेश गरिरेहका छन्। बजारमा प्रवेश गर्न इच्छुक नयाँ लगानीकर्ताहरुलाई पनि करेक्सन (घटेको सूचक) ले पर्याप्त अवसर प्रदान गरेको थियो। वित्तीय क्षमतामा अग्रसर रहेका कम्पनीहरुको घट्दो मूल्यले बजार उपयोगी वातावरण बनाउँदा बजारमा प्रवेश गर्नेहरुको संख्यामा पनि उल्लेखनीय वृद्धि आएको अनुमान गरिएको छ। कुल बजार पुँजीकरण सँगै ठुला मानिएका विशेष संस्थाहरुको पनि कुल बजार पुँजीकरणमा आकर्षक वृद्धि आएको छ।
यो साता सर्वाधिक बजार पुँजीकरणका साथ नेपाल दूरसञ्चार कम्पनी अग्रस्थानमा छ। एनटीसीको बजार पुँजीकरण लगभग २ खर्ब रुपैयाँ छ। नबिल बैंकको कुल बजार पुँजीकरण पनि डेढ खर्ब रुपैयाँ अधिक रहेको छ। यस अवधिमा नेपाल पुनर्बीमा कम्पनीको बजार पुँजीकरण १ खर्ब १५ अर्ब रुपैयाँ छ भने नेपाल लाइफ १ खर्ब १३ अर्ब रुपैयाँका साथ चौथो स्थानमा छ। नागरिक लगनी कोषको कुल पुँजीकरण पनि १ खर्ब माथि नै रहेको देखिन्छ।
एक साताको अन्तरालमा उत्साहजनक वृद्धि लिएको धितोपत्र बजारमा नजिकिएको पुस मसान्तले कस्तो प्रभाव पार्छ भन्ने विषयमा लगानीकर्ताहरुले अध्ययन गर्न जरूरी देखिन्छ। पुस मसान्तमा अग्रिम आयकर लगायत भुक्तानी भएर सरकारी खाता बलियो हुन्छ। त्यो बेला विकास खर्च भएन र तरलता अभाव चर्कियो भने बजार विपरीत दिशातर्फ लम्कने सम्भावना बलियो भएर जानेछ।
तर, नजिकिँदो स्थानीय तहको चुनावका कारण अधिकतम पैसाको परिचालन हुने सम्भावना पनि बलियो छ। त्यसो हुँदा बजारले थप सकारात्मक गति समात्न सक्ने अनुमान गरिएको छ।
२७०० को विन्दुलाई निरन्तर परीक्षण गरिरहेको बजारमा बजार विपरीत सूचनाले भने अवश्य नकारात्मक असर पर्नेछ। यो समय लगानीकर्ताले लगानीको रणनीति बनाउँदा वित्तीय सूचकांक बलिया भएका कम्पनीहरुमा लगानी गर्नु फलदायी हुनेछ। बुक क्लोज नभएका त्यस्ता कम्पनीहरुमा लगानी गर्दा प्रतिफल प्राप्तिको पनि लाभ लिन सकिनेछ ।
माथि तन्किन खोज्दै गरेको धितोपत्र बजार र त्यसप्रति आकर्षित लगानीकर्ताको मनोविज्ञानले आउँदा साता पनि बजारमा सकारात्मक माहोल नै बनिरहने अनुमान गरिएको छ। २०२१ लाई बिदाई गर्दै गर्दा लगानीकर्ता र सम्बन्धित निकाय दुवैले बजारका समस्यालाई विस्तारै सम्बोधन गर्दै व्यवस्थापनका विभिन्न सुझावहरुको अध्धयन गर्ने तर्फ लागेको देखिन्छ। २०२२ को बजार आधारभूत र प्राविधिक पक्ष दुवैले सक्षम हुने कल्पन गर्न सकिन्छ।
Facebook Comments