करदाताबाट साढे २५ अर्ब भ्याट उठ्न बाँकी

काठमाडौँ — मूल्य अभिवृद्धि कर (भ्याट) को बक्यौता बढ्दै गएपछि कर कार्यालयहरूले यस्तो कर दाखिला गर्न करदातालाई ताकेता गर्न थालेका छन् । आइतबार आन्तरिक राजस्व कार्यालय पुतलीसडक र बानेश्वरले सार्वजनिक सूचना निकाल्दै भ्याट बुझाउन ताकेता गरेका हुन् ।

पुतलीसडक कर कार्यालयले २५६ जना करदातालाई १५ दिनको समय दिँदै भ्याट दाखिला गर्न भनेको छ । त्यस्तै, बानेश्वर कर कार्यालयले ९६ जना करदाताको सूची सार्वजनिक गर्दै ७ दिनभित्र कर तिरिसक्नुपर्ने जनाएको छ ।

गत आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्ममा भ्याट नबुझाउने करदाताको संख्या ७७ हजार ५३० रहेको आन्तरिक राजस्व विभागले बताएको छ । यी करदाता २५ अर्ब ५५ करोड ५ लाख ९० हजार ७२२ हजार रुपैयाँ भ्याट असुली हुन नसकेको पनि विभागले जनाएको छ । गत असार मसान्तसम्ममा २ लाख ६८ हजार ४३६ करदाता मूल्य अभिवृद्धि करको दायरामा समेटिएका छन्, जसअनुसार तोकिएको समयमा कर नबुझाउने करदाताको संख्या करिब २९ प्रतिशत बराबर हो ।

गत आर्थिक वर्ष २०७७/७८ मा सरकारले मूल्य अभिवृद्धि करतर्फ ३ खर्ब २ अर्ब १६ करोड राजस्व उठाउने लक्ष्य राखेको विभागले बताएको छ । तर २ खर्ब ८७ अर्ब ६ करोड मात्रै असुली भयो । उक्त भ्याट असुलीमध्ये पैठारीतर्फ १ खर्ब ९० अर्ब १३ करोड लक्ष्य रहेकामा १ खर्ब ७० अर्ब ६३ करोड र आन्तरिकतर्फ १ खर्ब १२ अर्ब ३ करोड लक्ष्य राखेकामा १ अर्ब १६ अर्ब ४३ करोड असुल भएको विभागको तथ्यांकमा उल्लेख छ । विभागको वार्षिक प्रतिवेदनमा उल्लेख भएको विवरणअनुसार आर्थिक वर्ष २०७६/७७ मा मूल्य अभिवृद्धि कर विवरण पेस नगर्ने करदाता ३६.४६ प्रतिशत रहेकामा गत आर्थिक वर्ष २०७७/७८ मा बढेर ३८.०५ प्रतिशत पुगेका छन् ।

मूल्य अभिवृद्धि कर बक्यौता रहनुमा करदाताको अटेरी र केही प्रक्रियागत कारण जिम्मेवार रहेको आन्तरिक राजस्व विभागका निर्देशक राजुप्रसाद प्याकुरेलको भनाइ छ । ‘कुनै व्यक्ति वा संस्थाले आफूले गरेको कारोबारको स्वघोषणाबाट तिर्नुपर्ने कर एउटा हुन्छ । त्यसबाहेक अरू पनि कर दायित्व हुन सक्छ,’ उनले भने, ‘लेखापरीक्षण गर्दा करको दायित्व देखिन सक्छ । अथवा विभिन्न अनुसन्धान पछि कर अधिकृतले निर्धारण गरेको राजस्व दाखिला गर्नुपर्छ ।’ आन्तरिक राजस्व कार्यालय पुलतीसडक र बानेश्वरले जारी गरेको सूचनाअनुसार निर्माण व्यवसायी, प्रतिष्ठित व्यवसायी, सञ्चार उद्यमीलगायतले भ्याट तिरेका छैनन् ।

Facebook Comments