गाडी विक्रेतालाई ब्याजको भारी बोकाउँदै बैंक, नामसारी गरेको ४५ दिनसम्म पनि दिँदैनन् पैसा

काठमाडौं । बैंकले डेलिभरी अर्डर दिएर पठाएको गाडीमा भुक्तानी गर्न महिनौं लगाउन थालेका छन् । पछिल्लो समय देखिएको तरलता अभावको कारण बैंकहरूले स्वीकृत कर्जाको रकम दिन आलाटाली गरिरहेका हुन् ।

विभिन्न कम्पनीहरूले ग्राहकलाई गाडी दिएर बैंकको नाममा नामसारी गरेको ४५ दिनसम्म पनि आफूहरूले बैंकबाट रकम पाउन नसकेको गुनासो गर्न थालेका छन् । केही बैंकले त तिहार लगत्तै गाडी नामसारी गरेर दिए पनि पैसा भुक्तानी नदिएको गुनासो व्यवसायीहरूको छ ।

‘हामीले बैंकले डेलिभरी अर्डर दिएपछि गाडी दिने हो, त्यसको एक हप्ता भित्रै बैंकको नाममा नामसारी गरेर दिएका छौं । तर, तिहारको समयमा नामसारी भएको गाडीको पैसा अहिलेसम्म पाउन सकेका छैनौं,’ एक गाडी विक्रेताले भने ।

‘बैंकले गाडी नामसारी हुनासाथ ईएमआई बनाएर उठाउन थालेको हामीले पाएका छौं । तर, उनीहरूले हामी विक्रेतालाई लामो समयसम्म रकम नदिएर ब्याजको भार थोपरेका छन्’, अर्का एक व्यवसायीले भने ।

बैंकिङ च्यानलमा रकम आउन नसक्नु र बैंकहरूले पहिलो तीन महिनामा मै अन्धाधुन्दा लगानी गर्दा बजारमा तरलता अभाव देखिएको हो ।

बैंकहरूसँग तरलता अभावका कारण यसरी स्वीकृत कर्जा वापतको रकम पनि दिन ढिला भएको बैंकरहरू बताउँछन् । बैंकहरूले धेरै लगानी गरेको घरजग्गा तथा सेयर बजारमा आएको मन्दीले पनि समस्या आएको केही बैंकरहरूको भनाइ छ ।

‘अहिले बैंकसँग पैसा नभएपछि स्वीकृत कर्जा पनि भुक्तानी दिन समस्या देखिएको छ । एक किसिमको आँकलनको आधारमा कर्जा स्वीकृत गरिएको हुन्छ, त्यस अनुसार निक्षेप नआउँदा भुक्तानीमा ढिलाइ भएको हो’, सिभिल बैंकका कर्जा विभागका प्रविन घिमिरेले भने ।

पछिल्लो दिनमा अनौपचारिक क्षेत्रमा हुने कारोबार मौलाएको विज्ञहरूको भनाइ छ । बैंकिङ च्यानलमा रकम आउन नसक्नु र बैंकहरूले पहिलो तीन महिनामा मै अन्धाधुन्दा लगानी गर्दा बजारमा तरलता अभाव देखिएको हो । साथै, सरकारले पूँजीगत खर्च गर्न नसक्दा पनि तरलता अभाव बढेकोे विज्ञहरूको भनाइ छ ।

राष्ट्र बैंकले तरलता व्यवस्थापनकै लागि केही वस्तुको आयातमा एलसी खोल्दा शतप्रतिशतसम्म मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । यद्यपि, यसको परिणाम देखिसकेको छैन ।

गाडीमा कर्जा स्वीकृत गरेका अधिकांश बैंकले आफ्नो सीडी रेसियो राष्ट्र बैंकले तोकेको सीमाभन्दा माथि पुगेसँगै भुक्तानी दिन नसकेका हुन् ।

‘अहिले यस्तो कुनै बैंक छैन, त्यसले गाडी नामसारी भएको १४ दिन भित्र भुक्तानी गरेको छ । यसले बैंकले दिएको डेलिभरी अर्डरको बारेमा थप सोच्नु पर्ने अवस्था ल्याएको छ’, एक शोरुम संचालकले भने ।

प्रभु बैंकका डेपुटी सीईओ मणिराम पोखरेल बैंकहरूको केही आन्तरिक कारण र ऋणीले डकुमेन्ट पूरा गर्न नसक्दा समयमा भुक्तानी हुन नसकेको बताउँछन् । ‘कुुनै बैंकको आन्तरिक प्राविधिक कारण पनि भुक्तानीमा ढिलाइ हुने गर्छ । बैंक र ऋणीले आवश्यक प्रक्रिया समयमा नै पूरा नगर्दा भुक्तानीमा समस्या देखिएको हुनसक्छ’, पोखरेलले भने ।

कारण जे जस्ता भएपनि बैंक क्षेत्रले भोगिरहेको तरलता अभावको कारण अहिले कर्जा लिएको रकम पनि समयमा नै भुक्तानी हुन सकिरहेको छैन ।

Facebook Comments