सिरहाका कांग्रेस सभापतिलाई गोली हानेर मार्छु भन्दै एसपी पाण्डेको आतंक!

    काठमाडौं – जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) हिराबहादुर पाण्डेले आइतबार मध्यराति साढे १ बजे पेस्तोलसहित नेपाली कांग्रेस सिरहा सभापतिको घरमा पुगेर आतंक मच्चाएको खुलेको छ।

    स्रोतका अनुसार सरुवाको विषयलाई लिएर एसपी पाण्डे र कांग्रेस सिरहा सभापति रामचन्द्र यादवबीच विवाद भएको हो। विवादपछि मार्ने धम्की दिँदै एसपी पाण्डेले मध्यराति सभापति यादवको घर पुगेर आतंक मच्चाएको स्रोतले बतायो।

    प्रहरी प्रधान कार्यालयले ६ महिनामै एसपी पाण्डेलाई तानेर उनको ठाउँमा एसपी अर्जुन तिमिल्सिनालाई पठाएको छ। एसपी पाण्डेको ८ असार २०७८ मा जिल्ला प्रहरी कार्यालय सिराहा सरुवा भएको थियो।

    छोटो समयमै आफ्नो सरुवा भएपछि एसपी पाण्डे सभापति यादवसँग असन्तुष्ट थिए। प्रहरी प्रधान कार्यालयले पाण्डेलाई हेडक्वार्टर तानेपछि आक्रोशित पाण्डे गोली हानेर मार्छु भन्दै यादवको घरमा पुगेका हुन्।

    पेस्तोलसहित यादवको घरमा पुगेका एसपी पाण्डेलाई सिराहाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) लालबाबु कवारी र सशस्त्र प्रहरीका एसपी दीपेन्द्र गिरीले सम्झाएर फर्काएका स्रोतको दाबी छ। यस विषयमा सिरहाका सिडिओ कवारीले आफूलाई घटनाबारे थाहा नभएको बताए।

    प्रहरीले ११ कात्तिकमा किसन धामीलाई गोली हानी हत्या गरेको अभियोगमा केही दिनअघि सुशील यादव र प्रमोद यादवलाई पक्राउ गरेको थियो।

    पक्राउ परेका उनीहरूलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ। एसपी पाण्डले अभियुक्तलाई समातेपछि सभापति यादवले उनीहरुलाई छोड्न दबाब दिएका थिए। नमानेपछि यादवले गृहमन्त्रीमार्फत एसपी पाण्डेको सरुवा गरेको आरोप छ।

    एसपी पाण्डेले समेत अभियुक्तलाई समातेपछि छोड्न यादवले आफूलाई उनीहरुलाई छाड्न दबाब दिएको बताए। घटनापछि प्रदेश २ प्रहरी प्रमुख नायब महानिरीक्षक (डिआईजी) उमेश रन्जितकारले यादवलाई घरमै पुगेका भेटेका छन्।

    भेटको क्रममा एसपी पाण्डेमाथि अनुसन्धान गरेर कारबाही प्रक्रिया अगाडि बढाउने आश्वासन दिएको स्रोतले बितायो। यस विषयमा सांसद यादवसँग कुरा गर्दा आइतबार मध्यराति एसपी पाण्डे मदिरा सेवन गरेपछि हतियरासहित आफ्नो निवासमा आएको पुष्टि गरे।

    Facebook Comments