काठमाडौँ । नेकपा माओवादी केन्द्रका नवनिर्वाचित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि आफ्नो काँधमा निकै ठुलो भारी आएको महसुस भइरहेको बताएका छन् ।
अध्यक्षमा निर्वाचित भएपछि केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले आफूलाई अध्यक्षमा प्रस्ताव गर्ने, समर्थन गर्ने र सर्वसम्मत स्वीकार गर्ने केन्द्रीय कमिटी सदस्यलाई धन्यवादसमेत दिए।
उनले आफू लामो समय पार्टी नेतृत्वमा रहेको र विभिन्न घटनाक्रमको नेतृत्व गर्ने अवसर प्राप्त भएको भन्दै इतिहासका गम्भीर मोडमा गम्भीर भूमिका खेल्ने अवसर पाएको चर्चागरे ।
उनले भने, ‘यति लामो समय, यति धेरै राजनीतिक घटनाक्रम र उतारचढावबाट गुज्रिएर अहिलेसम्म सक्रिय राजनीतिमा कायमै रहँदा भिन्न भूमिकामा जानु पर्दैन र भन्ने लाग्छ ।’तर देशलाई एउटा राजनीतिक बिन्दुमा लैजाने आवश्यकता, पार्टीलाई अझै सुदृढ गर्ने आवश्यकता महसुस गर्दा आफू अझै केही समय सक्रिय हुनुपर्ने बाध्यता रहेको उनले बताए ।
कतिपयले ‘प्रचण्ड नभए यो पार्टी के होला ?’ भन्ने प्रश्न गर्ने गरेको उल्लेख गर्दै उनले यो प्रश्न नै गलत रहेको बताए । माओवादी एउटा विचार रहेको र यो विचार कुनै व्यक्तिसँग नभई सिंगो कम्युनिस्ट आन्दोलनको इतिहाससँग जोडिएको उनको भनाइ थियो ।
त्यस्तै प्रचण्डकाे सम्बाेधनसँग माओवादी केन्द्रको पहिलाे बैठक सकिएकाे छ । माओवादीकाे आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक पदाधिकारी चयन नगरी सकिएको हाे ।
बैठकले नारायणकाजी श्रेष्ठको प्रस्ताव र कृष्णबहादुर महराको समर्थनमा दाहाललाई अध्यक्ष बनाउने निर्णय गरेको थियाे । प्रचण्ड तीन दशकदेखि अध्यक्षको जिम्मेवारीमा रहँदै आएका छन् ।
अध्यक्षमा निर्वाचित भएपछि दाहालले पुस २५ गते अर्को बैठक बस्ने र त्यसअघि छलफल गरेर पदाधिकारी, स्थायी समिति, पोलिट्ब्यूरो समितिका सदस्यहरु पनि टुंगो लगाउने बताएका छन्
Facebook Comments