बन्द कोठामा हिटर बालेर सुत्दा किन हुन्छ मृत्यु, कसरी जोगिने?

काठमाडौं- घटना १– बिहीबार भेरी अस्पताल बाँकेको स्टोर कोठामा चार जना व्यक्ति मृत अवस्थामा भेटिए। अस्पतालको स्टोर कोठामा सुतेका सातमध्ये चार जनाको मृत्यु भएको थियो। कोठाको सबै झ्याल ढोका बन्द थिए। जाडो छल्नका लागि बन्द कोठामा कोइला बालिएको थियो। उनीहरुको मृत्यु निस्सासिएर भएको हुन सक्ने प्रहरीको अनुमान छ।

घटना २– गत वर्षको मंसिरमा बन्द कोठामा हिटर र कोइला बाल्दा सिन्धुपाल्चोकको जुगल गाउँपालिका ८ मा एक महिनाकी छोरीसँगै आमाको मृत्यु भयो। झ्याल र ढोका पुरै बन्द थिए। कोठामा भेन्टिलेसन पनि थिएन। कोठा न्यानो पार्नका लागि हिटर र आगो दुवै बाल्दा उनीहरुले ज्यान गुमाउनुपर्याे।

घटना ३– यो भन्दा अघि २०७६ सालको माघ पनि यस्तै घटना भएको थियो। मकवानपुरको दामनस्थित एक होटलमा आठ भारतीय नागरिकको मृत्यु भएको थियो। उनीहरु सुतेको कोठामा रातभरी हिटर बालिएको थियो। बन्द कोठामा हिटर बालेर सुतेका कारण उनीहरुको मृत्यु भएको प्रहरीले पुष्टि गरेको थियो।

चिसो मौसममा हिटर बाल्ने तथा आगो ताप्ने क्रममा सावधानी नअपनाउँदा निस्सासिएर/जलेर हुने मृत्युका घटना वर्षेनी घट्छन्। चिसो मौसममा आगो ताप्दा जति न्यानो हुन्छ त्यति नै जोखिम पनि हुन्छ।

धेरैजसोले झ्याल ढोका बन्द गरी आगो ताप्ने या हिटरको प्रयोग गर्ने गरेको पाइन्छ। जुन स्वास्थ्यका निम्ति घातक भइदिन्छ। सावधानी नअपनाउने हो भने विभिन्न स्वास्थ्य समस्यादेखि ठुलै दुर्घटना पनि निम्तन सक्छ, जसको उदाहरण माथिका घटनाहरु हुन्।

बन्द कोठामा आगो बाल्ने या हिटर ताप्दा कार्बन मोनोअक्साइड ग्याँस निस्कन्छ, मानवीय स्वास्थ्यलाई हानी पु¥याउने छातिरोग विशेषज्ञ डा राजु पंगेनी बताउँछन्।

उनले भने, ‘ग्याँस हिटरबाट कार्बन मोनोअक्साइड र नाइट्रोजन डाइअक्साइड ग्याँस निस्कन्छ। बन्द कोठामा लामो समयसम्म हिटर बाल्दा अक्सिजनको कमी हुन्छ। कार्बन मोनोअक्साइडले शरीरमा अक्सिजन छेकी दिन्छ र यो टाँसिन्छ। अक्सिजन हुनुपर्ने शरीरमा कार्बन मोनोअक्साइड हुँदा असर त गर्छ नै अक्सिनजको साटो शरीरमा कार्बन मोनोअक्साइड टाँसिदा रक्तसञ्चार प्रणालीमा असर गर्ने उनले बताए। रोकथाम गर्न सकिने भएपनि मानिसको लापरबाहीले गर्दा यस किसिमको घटना वर्षेनी घट्ने गरेको उनले बताए।

बन्द कोठामा हिटर बाल्दा राति सुत्दा सुत्दै शरीरमा अक्सिजनको मात्रा घट्न सक्छ। शरीरमा अक्सिजनको कमी हुँदा टाउको दुख्ने, शरीर झम्म हुने, बेहोस हुने र मृत्यु समेत हुन सक्ने उनले बताए। विशेषगरी दीर्घरोगी, गर्भवती, बालबालिका र ज्येष्ठ नागरिकले बढी सावधानी अपनाउनुपर्ने उनले बताए।

यो सँगै बन्द कोठामा हिटर बाल्दा अक्सिजनको कमी हुने, वातावरणमा भएको आद्रता घटाउने, श्वास नलीको भित्रि भागमा हुने म्युकस लियरलाई सुख्खा बनाउँछ। म्युकस लियर सुख्खा हुँदा विभिन्न ब्याक्टेरिया तथा भाइरसहरु सिधै फोक्सोमा छिर्न सक्छ। लामो समय हिटर बाल्दा नाक सुख्खा तथा बन्द हुने, पिनास हुने समस्या पनि आउन सक्ने उनी बताउँछन्। उनका अनुसार म्युकस लियर सुन्नियो भने दम, ब्रोन्काइटिसका बिरामीको समस्या बढ्न सक्छ।

हिटरको तापक्रमले निम्ताउने अर्को समस्या हो, खकारलाई सुख्खा बनाउने। डा पंगेनीका अनुसार सुख्खा खकार भए शरीर भित्रै खकार टाँसिने र निमोनिया हुने खतरा हुन्छ। खकार शरीरमा टाँसिर अक्सिजन नली समेत बन्द हुन सक्ने खतरा बढ्ने उनी बताउँछन्। स्वास्थ्य समस्या देखिए तत्काल चिकित्सकसँग परामर्श गर्न उनको सुझाव छ।

बन्द कोठामा धेरै जना बसेर रातभरी हिटरको प्रयोग नगर्न तथा हिटरको प्रयोग गर्दा झ्याल र ढोका दुवै खुला राख्नुपर्ने उनले बताए। राम्रोसँग भेन्टिलेसन हुनु आवश्यक छ। उनका अनुसार सकेसम्म छोटो समयसम्म हिटरको प्रयोग गर्ने, रातभरी हिटर बालेर छाड्ने, हिटर नजिकै बस्नु हुँदैन।

उनले भने, ‘सकेसम्म यस किसिमको हिटर प्रयोग नै गर्नु हुँदैन। प्रयोग गरेपनि बन्द कोठामा बाल्ने, रातभरी प्रयोग गर्नु हुँदैन। झ्याल, ढोका खुला गरेर मात्र प्रयोग गर्नुपर्छ। यसबाट हुने घटना रोकथाम गर्न सकिने भएपनि मानिसको लापरबाहीले गर्दा नै अप्रिय घटना हुने गर्छन्।’
लक्षण
– टाउको दुख्ने
– वाकवाकी लाग्ने तथा बान्ता हुने
– मुटुको धड्कन बढ्ने
–अक्सिजन कमी हुँदा श्वास फेर्न गाह्रो हुने
– चक्कर लाग्ने तथा बेहोस हुने।

Facebook Comments