एमाले भुत्ते फलामको डल्लो मात्र : माधव नेपाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) पार्टीको रूपमा नरहेको टिप्पणी गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले एमाले पार्टी नभएर पाटीपौवामा परिणत भइसकेको दाबी समेत गरेका हुन् ।

बिहीबार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले एमालेको क्रान्तिकारी नै भुत्ते भएकाले आफूहरूले क्रान्तिकारी धारको नेतृत्वसहित नयाँ पार्टी गठन गरेको तर्क समेत गरे । उनले भने, ‘त्यो पुरानो एमाले पार्टीमा क्रान्तिकारी धार नै रहेन । धार भुत्ते भयो । भए पनि काम नलाग्ने, त्यो त्यत्तिकै फलामको डल्लो हुन पुग्दछ । धारै छैन । क्रान्तिकारी चिन्तन नै छैन । परिवर्तनको सङ्कल्प नै छैन । निःस्वार्थ भावना पनि छैन । केही गरौँ भन्ने पवित्र सोच नै छैन । क्रान्तिकारी भावना छैन भने, समर्पणको भावना छैन भने, त्यो पार्टी पार्टी रहँदैन । त्यो पाटीपौवा हुन पुग्दछ । त्यो पाटीपौवाको केही काम छैन ।’

अध्यक्ष नेपालले जनतालाई सुखी बनाउने र मुलुकलाई समृद्ध बनाउने सङ्कल्पका साथ आफ्नो पार्टी अघि बढिरहेको दोेहोर्‍याए । उनले जनताको पीडालाई सम्बोधन गरेर आफ्नो पार्टी अघि बढ्ने भन्दै टोलटोलमा गएर पार्टीको संगठन निर्माणमा जुट्न पनि नेता, कार्यकर्तालाई निर्देशन दिए ।

Facebook Comments