राणालाई महाअभियोग लगाउन प्रधानमन्त्रीले सत्तारुढ दलसँग छलफल गर्ने

काठमाडौँ : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि महाअभियोग लगाउन प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक देखिएका छन् । उनले यसका लागि सत्तारुढ दलभित्र छलफल गर्ने बताएका छन् । बिहीबार डा.गोविन्द केसी लगायत अभियान्तासँगको छलफलमा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

डा.केसी र प्रधानमन्त्री देउवाबीच भएको ९ बुँदे नयाँ सहमतिको बुँदा नम्बर २ मा ‘चोलेन्द्र शमशेर प्रकरणलाई सम्बोधन गर्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई सहयोग गर्ने र महाअभियोगका लागि सत्ता गठबन्धनसँग थप छलफललाई निरन्तरता दिने’ उल्लेख छ ।

बिहीबार बेलूकीसम्म बालुवाटारमा प्रधानमन्त्री देउवासँगै कांग्रेस महामन्त्री गगन थापा र डा.केसीसहित अभियान्ता मोहना अन्सारी लगायतको उपस्थिती थियो । साथै बाँकेकी निर्मला कुर्मीको हत्याको विषयमा सीआइबीलाई छानबिन गर्न जिम्मा दिने सहमति भएको छ ।

डा.केसीले गएको पुसमा प्रधानमन्त्री देउवालाई भेटेर ७ बुँदे माग सम्बोधन गर्न आग्रह गरेका थिए । तर सहमति कार्यान्वयन नभएपछि बिहीबार फेरि बालुवाटार पुगेर मागबारे सरकारको ध्यानाकर्षण गराएका थिए ।

सो क्रममा प्रधानमन्त्री देउवाले डा.केसीका मागलाई सम्बोधन गर्दै नयाँ प्रतिबद्धता जनाएका छन् । जसमा बीपी प्रतिष्ठानका पदाधिकारीलाई कारबाही गर्ने सम्बन्धमा भएका प्राविधिक जटिलता एक दुई दिनमा सल्ट्याई निकास दिन सम्बन्धित मन्त्रीलाई निर्देशन दिने प्रधानमन्त्री देउवाको प्रतिबद्धता छ ।

यस्तै सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको सम्पत्तिबारे अनुसन्धान गर्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई सहयोग गर्ने र महाअभियोगका लागि सत्ता गठबन्धनसँग थप छलफललाई निरन्तरता दिनेबारे पनि प्रधानमन्त्री देउवाले प्रतिबद्धता जनाएका छन् ।

यस्तै सहमतिको बुदा नं. ३ मा निर्मला कुर्मी हत्या प्रकरणको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रिय अनसन्धान ब्युरोलाई जिम्मा दिन, आन्दोलनकारीसँग संवाद गरी सहमति गर्न तथा निजहरुलाई घर फर्किने वातावरण बनाउन गृहमन्त्रीलाई तत्काल निर्देशन दिने उल्लेख छ ।

यस्तै निजी मेडिकल कलेजलाई विद्यार्थीबाट अवैध रुपमा अतिरिक्त शूल्क लिन नदिने र त्यसो गर्ने कलेज सञ्चालकलाई कानूनको दायरामा ल्याउने विषयमा पनि प्रधानमन्त्री देउवाले प्रतिबद्धता जनाएका छन् ।

डा.केसीसँग भएका प्रतिवद्धताहरुको कार्यान्वयनका सम्बन्धमा सम्बन्धित मन्त्री तथा मन्त्रालयका पदाधिकारीहरुको काम कारवाहीको अनुगमन गर्ने बचन पनि प्रधानमन्त्री दिएका छन् । छलफलमा कांग्रेस महामन्त्री गगन थापाको पनि सहभागिता थियो । छलफलमा डा.केसीसँगै अधिवक्ता ओमप्रकाश अर्याल, प्रितम सुवेदी, अधिवक्ता मोहना अन्सारी तथा डा. विष्णु पोखरेलको समेत सहभागिता थियो ।

Facebook Comments