वीरगन्ज । वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासले भारतको ‘आजादी का अमृत महोत्सव’ विशेष सप्ताह अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूको मर्यादा, अधिकार र कल्याणका लागि छलफल गरेको छ । अपाङ्गताका समस्याहरू बुझ्ने प्रवद्र्धन र सहयोग परिचालनको आवश्यकतालाई बुझाउन वाणिज्य दूतावासको परिसरमा ‘दिव्यांगताः कानूनी प्रावधान र सामाजिक मानदण्ड’ शीर्षकमा प्यानल छलफल गरिएको हो ।
प्यानल छलफलमा रोटरी क्लब अफ वीरगञ्जका सदस्य अभिषेक चौधरी, डा आनन्द झा, बालरोग विशेषज्ञ एवम् रोटरी क्लब अफ वीरगञ्जका सदस्य, डा. शास्वत प्रसाद, अर्थोपेडिक सर्जन एवम् वीरगन्जको रोटरी लिम्ब प्रोजेक्टका प्रमुख श्रीकृष्ण जी, रक्सौल सुन्दरपुरको लिटिल फ्लावर कुष्ठरोग कल्याणकारी संघका सचिव जोन थो, रक्सौलमा डंकन अस्पतालको सामुदायिक पुनस्थापना परियोजनाका इन्चार्ज, वीरगन्जको मानव सेवा आश्रमका संयोजक सानु गुरुङ र भारतका कन्सुल जनरल नितेश कुमारसहित महावाणिज्य दूतावासका अधिकृत तथा अन्य सदस्यहरुको उपस्थिति थियो ।
प्यानलका सदस्यहरूले नेपाल–भारत सीमा क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरूको उपचार, पुनस्र्थापना र कल्याणमा काम गरिरहेको भूमिकामा प्रकाश पारेका थिए । उनीहरुले अपाङ्गता भएका व्यक्तिलाई समान अधिकार र अवसर सुनिश्चित गर्नका लागि सरकारले बनाएका विभिन्न ऐन–नियमका बारेमा पनि जानकारी दिए ।
महावाणिज्य दूतावासका कन्सुल जनरल कुमारले यस विषयमा आफ्नो भिन्न र जानकारीमूलक विचारका लागि सहभागीहरूलाई धन्यवाद ज्ञापन दिए भने अपाङ्गता भएका व्यक्तिहरूका लागि भारत सरकारका अपाङ्गता पहिचान जारी गर्ने लगायत विभिन्न कार्यक्रम तथा योजनाहरू बारे प्रकाश पारे । उनले विश्वका विभिन्न स्थानमा रहेका असंख्य अपाङ्गता भएका व्यक्तिले कडा परिश्रम र इच्छाशक्तिद्वारा मानसिक तथा शारीरिक अपाङ्गतालाई सफलतापूर्वक पार गरेको बताए ।
Facebook Comments