सावधान : ओमिक्रोन हावाबाट पनि सर्न सक्छ !

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनले विश्वलाई फेरि त्रसित बनाएको छ। दुबै डोप खोप लगाएकाहरुमा पनि यसको संक्रमण पाइएपछि विश्वका मानिसहरु आतंकित भएका छन्। दक्षिण अफ्रिकाबाट सुरु भएको ओमिक्रोन संक्रमण दक्षिण एसियामै पनि नेपालसहित भारत र श्रीलंकामा देखा परिसकेको छ। भारतमा त झन् तीव्ररुपमा फैलिरहेको छ।

हालसम्म भारतमा २३ जनामा यो भेरिएन्टको संक्रमण पाइएको छ। ओमिक्रोनले विश्व नै अक्रान्त भइरहेका बेला वैज्ञानिकहरुले यसबारे एउटा तथ्य फेला पारेका छन्। उनीहरुका अनुसार कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन हावाबाट पनि सरिरहेको तथ्य फेला पारेको छ।

हङकङको एक क्वारेन्टीन सीसीटीभी फुटेजमा गरिएको अध्ययनले यस्तो देखाएको वैज्ञानिहरुको दाबी छ। जुन इमर्जिङ इन्फेक्सियस डिजिज नामक पत्रिकामा प्रकाशनसमेत गरिएको छ।

रिपोर्टअनुसार क्वारेन्टीन होटलमा बसेका दुई जना यात्रीलाई ओमिक्रोन संक्रमण देखिएको छ। दुवैले कोरोनाविरुद्धको भ्याक्सिनको दुवै मात्रा लिएको र कोहीसँग सम्पर्कमा नरहेको व्यक्तहरु भएको बताइएको छ। यहाँसम्म कि यी दुई जना आफ्नो कोठाबाट समेत बाहिर निस्किँदैनथे।

समाचारमा उल्लेख गरिएअनुसार उनीहरुको ढोका केवल खाना र कोभिड परीक्षणको लागि मात्र खुल्ने गर्थ्यो। त्यससँगै होटेलको अन्य ठाउँमा पनि ओमिक्रोन संक्रमण फैलिएको दाबी गरिएको छ। हावाबाट सर्ने भएकाले पनि यसले विश्वलाई अझै बढी आक्रान्त बनाउनेमा वैज्ञानिकहरुले चिन्ता व्यक्त गरेका छन्।

Facebook Comments