पाकिस्तानको कारखानामा श्रीलंकन नागरिकको कुटी-कुटी हत्या

एजेन्सी : पाकिस्तानमा शुक्रबार एक जना श्रीलंकन नागरिकलाई कुटेर मारिएको छ भने उनको शवमा आगो लगाइएको छ। द एक्प्रेस ट्रिब्युनका अनुसार पाकिस्तानको पञ्जाव प्रान्तको सियालकोटस्थित एक गार्मेन्ट फ्याक्ट्रीमा म्यानेजरको काम गर्ने श्रीलंकन नागरिक प्रियानाथ कुमारालाई आक्रोशित भीडले पहिला कुटपिट गरेको थियो भने पछि उनको शरिरमा आगो लगाएको थियो।

उक्त फ्याक्ट्रीमा बिहीबार रातिदेखि नै कुमाराले ईश्वरको निन्दा गरेको अफवाह फैलिएको थियो। सात वर्षदेखि उक्त फ्याक्टीमा काम गर्दै आएका कुमाराले तेहरिक लाब्बिक पाकिस्तान (टिएलपी) नामक संगठनको पोस्टर च्यातेको उनीहरूको भनाइ थियो। जुन पोस्टरमा कुरानको केही कुरा उल्लेख थियो। कुमाराविरूद्ध सुरूमा फ्याक्ट्रीमा काम गर्नेहरू र आसपासका स्थानीयले फ्याक्ट्रीबाहिर प्रदर्शन गरेका थिए भने पछि आक्रोशित भीड भित्र पसेर उनीमाथि आक्रमण गरेको थियो।

पञ्जाव प्रहरीका अधिकारीहरूले प्रहरी घटनास्थलमा पुगुन्जेल भीडले कुमाराको हत्या गरिसकेको र उनको शवमा आगो लगाएको बताएको छ। सियालकोट अस्पतालले शरिर लगभग सबै जलिसकेको अवस्थामा एउटा शव अस्पताल ल्याइएको बताएको छ।

प्रहरीले घटनामा संलग्नको खोजी भइरहेको जनाएको छ। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले श्रीलंकन नागरिकलाई जिउँदै जलाइनु पाकिस्तानका लागि लज्जाको विषय भएको बताएका छन्।

सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले आफूले अनुसन्धानलाई निरीक्षण गरिरहेको उल्लेख गर्दै अभियुक्तलाई कानुनअनुसार कडा कारबाही गर्न कुनै कसर बाँकी नराख्ने बताएका छन्। अभियुक्तहरू पक्राउ पर्ने क्रम जारी रहेको पनि खानले जानकारी दिएका छन्।

प्रहरीले अहिलेसम्म ५० जना पक्राउ परिसकेको र सिसिटिभी फुटेज हेरेर अरू अभियुक्तको पनि खोजी भइरहेको जनाएको छ।

श्रीलंकाको विदेश मन्त्रालयले घटनामा सलंग्नलाई कारबाही गर्न र पीडितलाई न्याय दिलाउन पाकिस्तानी अधिकारीहरूले प्रभावकारी काम गर्ने अपेक्षा गरेको बताएको छ।

Facebook Comments