नेपाल-भारतमा कोभिड खोपको मान्यता, आवत–जावतमा सहज

काठमाडौँ : नेपाल र भारत सरकारबीच कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको उपस्थितिमा नेपाल सरकारको तर्फबाट स्वास्थ्य सचिव डा. रोशन पोखरेल र भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले सो समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

पूर्ण रुपमा कोभिड–१९ खोप लगाइसकेका दुवै राष्ट्रका यात्रुहरुको यात्रा सहज बनाउन यो समझदारी पत्र एक महत्वपूर्ण कदम हुनुका साथै भारत र नेपालबीचको कोभिड–१९ सम्बन्धी बलियो सहकार्य र समन्वयमा अर्को कोशेढुङ्गा साबित हुने बताइएकाे छ ।

यससँगै नेपालमा कोरोनाविरुद्धको खोप लगाएकाहरुले भारतमा मान्यता पाउँछन् भने भारतमा कोरोनाविरुद्धको खोप लगाएकाहरुले पनि नेपालमा मान्यता पाउने भएका छन् । यसअघि कोरोना खोपको मान्यता नपाएको कारण नेपाल–भारत सीमामा आवत–जावतको समस्या भएको थियो । अब भने नेपालमा भारतबाट आई काम गर्ने कामदार र नेपालबाट भारत गई ज्याला मजदुरी गर्नेहरुलाई सहज भएको छ ।

Facebook Comments