आज प्रदेश १ का मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज प्रदेशसभा बैठकमा विश्वासको मत लिँदैछन् । आचार्यले शुक्रबार प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका थिए ।

प्रस्तावमाथि छलफल र मतविभाजनका लागि सभामुख प्रदीपकुमार भण्डारीले आज साढे १२ बजे नवौं तथा हिउँदे अधिवेशनको चौथो बैठक बोलाएका छन् ।

नेकपा एमाले विभाजन भएका कारण अल्पमतमा रहेका आचार्यले प्रदेशसभामा विश्वासको मत पाउने सम्भावना छैन । ९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा बहुमतका लागि ४७ मत आवश्यक पर्छ ।

सत्ता पक्ष एमालेसँग सभामुखसहित ४१ सांसद छन् । एमालेकी सांसद गुलेफुन खातुन भने फरार छिन् । सरकारी छाप किर्ते मुद्दामा दोषी ठहर भएकी उनी आजको प्रदेशसभा बैठकमा उपस्थित हुने सम्भावना कम छ ।

विपक्षी गठबन्धनमा रहेको कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जसपाका तीन र संघीय लोकतान्त्रिक मन्चका एक जना सांसद छन् । एमाले विभाजनको दोस्रो दिन गत भदौ १० गते आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

Facebook Comments