जन्मदर्ताका लागि १० हजार रुपैयाँ माग

महोत्तरी : महोत्तरी महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ५ ले जन्मदर्ताका लागि १० हजार रुपैयाँ मागेपछि एउटा परिवारका बालबालिका विद्यालय जान पाएका छैनन् ।

स्थानीय रिङ्कु देवीले आफ्ना चार सन्तानको जन्मतदर्ताका लागि रामबहादुर महतो र कम्प्युटर अपरेटर ऐबुल राईले १० हजार रुपैयाँ मागेपछि छोराछोरीलाई विद्यालय पठाउन नसकेको बताइन्।

विद्यालयमा नाम लेख्न जन्मदर्ता मागेपछि जन्मदर्ताका लागि आफू एक वर्षदेखि वडा कार्यालय धाइरहे पनि नपाएको उनले दुःखेसो पोखिन् । आफूसँग १० हजार रुपैयाँ नभएकोले जन्मदर्ता लिन नपाएको रिङ्कुदेवीको गुनासो छ ।

आठ महिनाअघि नै आफूले एक हजार रुपैयाँ बुझाइसकेको र थप नौ हजार रुपैयाँ जुटाउन नसक्दा जन्मदर्ता लिन नपाएको उनले बताइन् ।

अर्का स्थानीयबासी रामनारायण यादवले पनि आफ्ना दुई सन्तानको जन्मदर्ता बनाउन जाँदा वडाध्यक्ष र कम्प्युटर अपरेटरले १० हजार रुपैयाँ मागेपछि वार्षिक ३६ प्रतिशत व्याजदरमा ऋण लिएर रकम बुझाएको बताए ।

स्थानीयवासी भानु यादवले पनि तीन सन्तानको जन्मदर्ता बनाउन १० हजार तिर्नुपरेको बताए ।

जन्मदर्ता गर्दा १० हजार तिर्नुपरेको उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वडाध्यक्ष महतोलाई गएको असोज २४ गते १० हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो ।

मटिहानी नगरपालिकाको सबैजसो वडाले जन्मदर्ता, विवाह दर्ता, मुत्यु तथा अन्य व्यक्तिगत घटना दर्ताको प्रमाणपत्र बनाउँदा पाँच सय देखि एक हजार रुपैयाँसम्म असुल गर्ने गरेका स्थानीयबासीन्दा बताउँछन् ।

जन्म, मृत्यु, विवाह लगायत सामाजिक दर्ता ३५ दिनभित्र निःशुल्क दर्ता गर्ने र ३५ दिन नाघेपछि ५० रुपैयाँ जरिवाना गरी दर्ता गर्ने सरकारी प्रावधान छ ।

Facebook Comments