कोभिडबाट रसियामा एकै दिन एक हजारको मृत्यु, ५० प्रतिशतले लगाएनन् खोप

एजेन्सी : रसियामा कोभिडबाट एकै दिन एक हजार जनाको मृत्यु भएको छ । कोभिड महामारी फैलिएपछि रसियामा पहिलो पटक संक्रमणबाट यति ठूलो संख्यामा मानिसहरुको मृत्यु भएको हो । पछिल्लो एक सातादेखि कोभिडबाट मृत्यु हुनेको संख्या निरन्तर बढिरहेको छ । खोप लगाउन अटेरी गर्दा संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढेको रसियाली प्रशासन क्रेमलिनले जनाएको छ ।

बढ्दो अविश्वासका कारण अहिलेसम्म एक तिहाई रसियालीले मात्र खोप लगाएका छन् । कोभिडबाट रसियामा अहिलेसम्म २ लाख २२ हजारको मृत्यु भइसकेको छ । शनिबार मात्र ३३ हजार संक्रमित थपिएका थिए ।

अर्थतन्त्र चलायमान हुन दिनुपर्ने भन्दै सरकारले लकडाउन भन्दा पनि खोपमा जोड दिएको छ । संक्रमण बढ्दै गइरहेको अवस्थामा सर्वसाधरणलाई खोपबारे जोड दिनुपर्ने धारणा यसै साता सरकारका प्रवत्ता दिमित्री पेस्कोभले व्यक्त गरेका थिए । ‘खोप नलगाउनु वास्तवमै गैरजिम्मेवारी कार्य हो । किनकी कोभिडका कारण दिनहँु सयौं मानिसको मृत्यु भएको छ, ’ उनले भने ।

स्वास्थ्य प्रणालीमा कुनै समस्या नरहेको र यसले संक्रमणका जतिसुकै बिरामी धान्ने सरकारको भनाई छ । तर, स्वास्थ्य मन्त्री मिखेल मुरास्कोले कोभिडको त्रासका कारण उपचार छोडेर घरमै बसेका चिकित्सकलाई खोप लगाएर काममा फर्किन आग्रह गरेका छन् ।

रसियाा अझै पनि साढे सात लाख संक्रीय संक्रमित छन् । महामारी फैलिएपछि ८० लाख जना संक्रमित भइसकेका छन् । तर, कूल जनसंख्याको एक तिहाईले मात्र खोप लगाएका छन् । अझै पनि रसियाको ठूलो जनसंख्या खोप लगाउन अनिच्छुक देखिन्छ । हालै गरिएको एक सर्वेक्षणमा ५० प्रतिशत रसियाली खोपप्रति विश्वास गर्दैनन् । रसियाले आविश्कार गरेको कोभिड खोप स्पुतनिक ५ लाई तीन ओटा देशले अनुमोदन गरिसकेका छन् ।

Facebook Comments