घटालथानमा दसैं जाँतको तयारी अन्तिम चरणमा

डडेल्धुरा : अमरगढी नगरपालिका–३ डोटी खेलाको पुछारमा रहेको सुदूरपश्चिमको प्रमुख धार्मिक शक्तिपिठ नजिकैको अशीग्राम मन्दिरमा लाग्ने दशै जाँत (मेला) को तयारी पूरा भएको छ।

हरेक वर्ष बडा दसैंमा अशीग्राम मन्दिरमा दसैं जाँत धुमधामसँग विशेष आस्थाका साथ मनाइने गरिन्छ। डोटीखोला आसपासका गाउँबस्तीसँगै सदरमुकाम खलंगा र छिमेकी जिल्लाबाट पनि ठूलो संख्यामा भक्तजनहरू दसैं जाँतका बेला घटाल बाबाको पूजाआजासँगै यो विशेष अवसरमा काम्ने घटालका धामीबाट आशिषसहित अक्षता र प्रसाद ग्रहण गरेर घर फर्कने गर्छन् ।

मेला भर्न सुदूरपश्चिमका विभिन्न जिल्लालगायत छिमेकी देश भारतबाट पनि भक्तजनहरू आउने गर्छन् । धामीले निहुरिएर मुखभरी बालुवा लिएर खाने गर्छन् । धामीहरूले पहिले पहिले ६० घडा बालुवा र ६० घडा पानी खाने गर्थे भने अहिले पनि १०–१२ मुठी जति मुखभरीको बालुवा पानीसँगै खाने गरेको स्थानीय बताउँछन्।

घटाल बाबासँग कसैले केही मागेमा मनोकामना पूरा हुने जनविश्वास छ। यहाँ मनोकामना पूरा भएपछि बोकाको बली दिने चलन छ। किंवदन्तीअनुसार डोट्याली राजा नागी मल्लकी पुत्रविहीन रानीले भारतको गढवालबाट घटाल देउता दाइजोमा ल्याएको तर देउतालाई अहिले मन्दिर रहेको स्थानबाट दरबारसम्म लैजान नसकेपछि त्यहीँ नै घटालबाबा स्थापना गरिएको बताइन्छ।

पश्चिमी क्षेत्रमा घटालबाबाले मनोकामना पूरा गरिदिने जनविश्वास रहँदै आएको छ। घटस्थापनाका दिन चम्सालमा रहेको देवघरबाट देउताको देउरो घटालस्थान नजिकै अशीग्राम मन्दिरमा र्पुयाइन्छ बडा दसैंको दिन मेला सकिएपछि बेलुकी देउरो पुनः चम्सालमा रहेको देवघरमा ल्याइने गरिएको घटाल क्षेत्र विकास समाजका अध्यक्ष कृष्णप्रसाद बोहराले जानकारी दिए।

दसैंजातका बेला आफ्नो थातथलो छोडेर टाढा पुगेकाहरु पनि जाँतका बखत एकै दिनका लागि भए पनि घर फर्कने गरेका अध्यक्ष बोहरा बताउँछन्। द्वापरयुगमा कुरुक्षेत्रमा भएको कौरव र पाण्डवबीचको धर्मयुद्धमा भीमपुत्र घटोत्कचले ठूलो पराक्रम प्रदर्शन गरेका थिए। उनले कौरव सेनामाथि धावा बोलेर ठूलो क्षति र्पुयाएको धार्मिक ग्रन्थहररूमा उल्लेख छ।

लडाइ मैदान मै वीरगति प्राप्त गरेका घटोत्कचको पराक्रम देखेका श्रीकृष्णले उनलाई कलियुगमा ख्याति प्राप्त भगवानका रुपमा मान्यता पाउने वरदान दिएको विश्वास छ। सदियौंदेखि त्यहि मान्यता अनुरुप घटाल बाबालार्इ यसक्षेत्रका बासिन्दाले ठूलो धार्मिक आस्था र सम्मानका साथ पुज्ने गरेका स्थानीय बताउँछन् ।

दसैं जातको अर्को आकर्षण आफन्तजनहरुसँगको भेटघाट केही समयका लागि भए पनि एकै थलोमा बसेर सुखदुःख साँटासाँट गर्न पाउनु पनि हो ।

घटाल थानमा हरेक वर्ष २ बैसाखमा मेला लाग्ने गर्छ । साथै जाँत अवधिभर जाँडरक्सी बिक्री वितरण, सेवन गर्ने तथा जुवातास खेल्ने खेलाउनेलाई समितिको निर्णयअनुसार कडाभन्दा कडा कारबाही गरिने भएकाले जाँतलाई मर्यादित बनाउन घटाल क्षेत्र विकास समाजले सबैलाई आग्रह गरेको छ।

Facebook Comments